वि.सं.२०८२ वैशाख ६ शनिवार

एमालेको पत्रसँगै बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय

काठमाडौं । राप्रपाले जेठ ६ गते हुन लागेको बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ । उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् ।

आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिइसकेको छ ।

राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मत भार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् ।

उनीहरुको मत भार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मत भार १३२ छ । यसअघि एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेका थिए ।