धनगढी । नेपाली कांग्रेस (विपी) डडेल्धुराले नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी एकताका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
जिल्ला सभापति भरत नेपालीद्वारा जारी वक्तव्यमा २०७८ सालमा सम्पन्न नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनका क्रममा उत्पन्न विषम परिस्थितिपछि विधिसम्मत अधिवेशनको पक्षमा उभिएका नेता-कार्यकर्ताको सहभागितामा कांग्रेस (विपी) गठन भई जिल्लामा सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा जननायक बीपी कोइरालाद्वारा प्रतिपादित मौलिक प्रजातान्त्रिक समाजवादको सिद्धान्त अनुसरण गर्दै पार्टीले पछिल्ला दुई निर्वाचनमा भाग लिएर सम्मानजनक जनमत प्राप्त गरेको दाबी गरिएको छ । मिति २०८२ फागुन १० गते प्रकाशित नेपाली कांग्रेस डडेल्धुराको पार्टी एकता सम्बन्धी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस (विपी) ले उक्त आह्वानलाई सकारात्मक रूपमा लिएको जनाएको छ । सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका तथा हाल विपी कांग्रेसमा आबद्ध कार्यकर्तालाई केन्द्रीय समितिको निर्णयसमेतलाई दृष्टिगत गर्दै पार्टीमा जोडिन गरिएको आह्वानप्रति छलफल आवश्यक रहेको उल्लेख गरिएको छ ।
वक्तव्यमा सातौं अधिवेशनदेखि हालसम्मको राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको वर्तमान नेतृत्व पूर्ण रूपमा जानकार रहेको स्मरण गराउँदै पार्टी एकताका लागि आवश्यक संवाद र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा तथा सो पार्टीको केन्द्रीय समितिलाई अनुरोध गरिएको छ । कांग्रेस (विपी) डडेल्धुराले आपसी सहमति र लोकतान्त्रिक मूल्य-मान्यताका आधारमा राजनीतिक सहकार्य सुदृढ गर्न तयार रहेको जनाएको छ ।
काँग्रेसको केन्द्रीय नेतृत्वबाट शेरबहादुर देउवा बाहिरिएपछि दुई पटक जिल्ला सभापति र एक पटक प्रदेश सांसद भइसकेका नेता कर्ण मल्ल मूल घर काँग्रेसमै फर्किने सक्ने विश्लेषण गरिएको छ । उनी देउवासँग विवाद भएपछि काँग्रेस छोडेर नयाँ पार्टी बनाएका थिए । सुदूरपश्चिममा मल्ल प्रभावशाली नेता मानिन्छन् ।









































