काठमाडौँ । न्यूयोर्कका मेयर जोहरान ममदानीले राज्यका नेताहरूले धनी व्यक्ति र ठूला कम्पनीमाथि थप कर लगाउने प्रस्ताव स्वीकृत नगरे न्यूयोर्कमा सम्पत्ति कर बढाउन बाध्य हुनुपर्ने चेतावनी दिएका छन् ।
न्यूयोर्क सहरको आम्दानीको प्रमुख स्रोतका रूपमा सम्पत्ति कर रहेको छ । उक्त कर वृद्धि भएमा सरकारलाई थप राजस्व प्राप्त हुने र बजेट घाटा घटाउन सहयोग पुग्ने ममदानीको भनाइ छ । तर यसले महँगीमा समेत असर पार्न सक्ने उनले स्वीकार गरेका छन् ।
ममदानीले सहर गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै घाटा पूर्ति गर्न दुई विकल्प अघि सारेका छन् । पहिलो, धनी नागरिक र ठूला कम्पनीमाथि कर दर बढाउने, दोस्रो, सम्पत्ति कर बढाएर आरक्षित कोषबाट रकम निकाल्ने ।
उनका अनुसार दोस्रो विकल्प कठिन र दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ । उनले न्यूयोर्क सहरले राज्यलाई अपेक्षाकृत धेरै सेवा प्रदान गरे पनि त्यसअनुसार वित्तीय सहयोग नपाइरहेको गुनासो गरे ।
राज्यका कानुन निर्माता निकायले आवश्यक कदम नचाले सहरसँग वैकल्पिक उपाय अपनाउनु बाहेक अन्य विकल्प नरहने उनको चेतावनी छ । उनले सम्पत्ति कर करिब ९.६ प्रतिशतसम्म बढ्न सक्ने संकेत दिएका छन् । यदि यस्तो निर्णय कार्यान्वयन भए, पछिल्ला दुई दशकयताकै सबैभन्दा ठूलो कर वृद्धि हुने बताइएको छ ।









































