काठमाडौं । नेकपा एमालेको पुनर्मिलनका लागि सहमतितय गर्न बनेको वार्ता टोलीको पहिलो बैठक आज बस्ने भनिए पनि माधव पक्षका टोली नेता भीम रावलको आँखामा समस्या देखिएपछि अनिश्चित जस्तै भएको छ ।
अध्यक्ष केपी शर्मा अोली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार भएको सहमति अनुसार दुवै पक्षबाट पाँच-पाँच जना सदस्य रहेको वार्ता टोली गठन भएको थियो । वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।
ओली पक्षका टोली नेता सुवास नेम्वाङ र माधव पक्षका नेता भीम रावलबीच सहमति गरेर सदस्यहरुलाई खबर गर्ने भनिएकोमा रावलको आँखा पाकेको हुनाले अस्पताल जार्नुपरेका कारण समय अनिश्चित भएको हो ।
वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म वार्ता कहाँ र कतिबेला हुने भन्ने खबर नआएको बताए । वार्ता टोलीलाई चाँडो सहमति मस्यौदा बनाउन दवाव छ ।