वि.सं.२०८१ फागुन ३ शनिवार

मन्त्री ढकालले भने, ‘सरकारको सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा मोतिबिन्दु लागेको छ कि भन्ने मलाई अनुभूति हुन्छ।’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणमा सरकारले सीमित स्रोतसाधनका बाबजुद् पनि सकारात्मक काम गरेको बताएका छन्।

वीर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले सरकारले सीमित स्रोतसाधनमा पनि यत्रो काम गर्दा पनि त्यो कसैले नदेखेको भन्दै गुनासो पोखे।

‘हामीले निर्वाह गरेको यो भूमिका विदेशीहरूले देखेका छन्। तर विदेश र स्वदेशमा रहेका नेपालीहरूले यसलाई देख्न सक्दैनन्,’ मन्त्री ढकालले भने, ‘यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा मोतिबिन्दु लागेको छ कि भन्ने मलाई अनुभूति हुन्छ।’

उनले विदेशबाट आएका व्यक्तिहरूलाई टर्चले जस्तै खोजीखोजी परीक्षण गरेको र पोजेटिभ देखिएकाहरूलाई अस्पतालसम्म पुर्‍याइएको बताए।

मन्त्री ढकालले वीर अस्पतालमा मानिसलाई राज्यको मुटु अस्पताल पुग्यौं भनेर अनुभूति हुने खालको सेवा विस्तार गरिएको जनाए। उनले भने, ‘राज्यले कुन खालको सेवा दिएको छ र राज्यको डाक्टर, नर्सहरूको कस्तो रवैया छ भन्ने कुरा एकचोटि मान्छे वीर अस्पताल आएर चेते पुग्छ।’

Untitled