वि.सं.२०८२ फागुन ३ आइतवार

जर्मनीमा इरानी सरकारविरुद्ध विशाल प्रदर्शन, लाखौँ सडकमा

khanepani

काठमाडौँ । जर्मनीको म्युनिख सहरमा भइरहेको सुरक्षा सम्मेलनका क्रममा इरानको सरकारविरुद्ध ठूलो प्रदर्शन भएको छ । प्रहरीका अनुसार करिब दुई लाख पचास हजार मानिस र्‍यालीमा सहभागी भएका थिए । यो प्रदर्शन निर्वासित क्राउन प्रिन्स रेजा पहलवीको तेहरानमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन गरेको आह्वानपछि भएको बताइएको छ ।

म्युनिखका सडकहरूमा प्रदर्शनकारीले ढोल बजाउँदै सरकार परिवर्तनका नारा लगाएका थिए । उक्त र्‍याली ‘विश्वव्यापी कार्य दिवस’ अभियानअन्तर्गत आयोजना गरिएको हो, जसको उद्देश्य इरानभित्र चलिरहेका आन्दोलनलाई अन्तर्राष्ट्रिय समर्थन जुटाउनु रहेको जनाइएको छ । यस्तै प्रदर्शनका लागि लस एन्जलस र टोरन्टोमा पनि आह्वान गरिएको थियो । सहभागीहरूले सन् १९७९ को क्रान्तिपूर्वको शेर र सूर्य चिन्ह भएको पुरानो इरानी झण्डा बोकेका थिए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पहलवीले लोकतान्त्रिक देशहरू मौन बसे इरानमा थप मृत्यु हुने चेतावनी दिए । उनले विश्व समुदाय इरानी जनताको साथ उभिने कि नउभिने भन्ने प्रश्न उठाउँदै दमनलाई बेवास्ता गरिए त्यसले अन्य निरंकुश शासकलाई पनि गलत सन्देश जाने बताए ।

प्रदर्शनमा केही सहभागीले ‘इरानलाई फेरि महान बनाऔँ’ लेखिएको रातो टोपी लगाएका थिए, जुन अमेरिकाको राजनीतिक नारासँग मिल्दोजुल्दो देखिन्थ्यो । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पनि र्‍यालीलाई सम्बोधन गरेका थिए । प्रदर्शनकारीहरूले पहलवीको समर्थनमा नारा लगाउँदै उनलाई भावी शासकको रूपमा प्रस्तुत गरे ।

यसैबीच साइप्रसको निकोसियामा पनि करिब पाँच सय मानिसले इरानी सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले इरानमा इन्टरनेट बन्द भएकाले जनताको आवाज बाहिर आउन नसकेको बताएका छन्। मानवअधिकार संस्थाहरूका अनुसार गत महिनाका आन्दोलनमा कम्तीमा सात हजार पाँच जनाको मृत्यु भएको छ भने इरानी सरकारले तीन हजार एक सय सतार जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानमाथि दबाब बढाउँदै सैन्य कारबाहीको चेतावनी दिएका छन् र शासन परिवर्तन नै उत्तम विकल्प हुन सक्ने संकेत गरेका छन् ।