वि.सं.२०८२ फागुन १ शुक्रवार

भारतीय ओपनर अभिषेक शर्मा अस्पताल भर्ना, नामिबियाविरुद्ध खेल्ने सम्भावना अनिश्चित

khanepani

काठमाडौँ । भारतको टि–२० क्रिकेट टिमका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । उनी दुई दिनदेखि दिल्लीस्थित एक निजी अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यम पीटीआइले जनाएको छ ।

बीसीसीआईको स्रोतले पीटीआईसँग भन्यो, ‘अभिषेक पेटको संक्रमणका कारण निजी अस्पतालमा भर्ना भएका छन् । समस्या स्पष्ट गर्न केही परीक्षण भइरहेको छ । आजै डिस्चार्ज हुने वा नहुने निश्चित छैन । अहिलेको अवस्थामा नामिबियाविरुद्ध खेल्ने सम्भावना कम देखिएको छ ।’

टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाविरुद्ध अभिषेक पहिलो बलमै आउट भएका थिए । त्यसपछि अमेरिकाको इनिङ्सका क्रममा उनी फिल्डिङमा ननिस्किएपछि सहायक प्रशिक्षक रायन टेन डोएसाटेले उनको पेटसम्बन्धी समस्या रहेको पुष्टि गरेका थिए ।

‘अभिलाई अझै पेटमा केही समस्या छ, दुई दिनभित्र खेल्न सक्ने अवस्थामा पुग्ने आशा गरेका छौँ,’ टेन डोएशाटेले भनेका थिए ।

यदि अभिषेक नामिबियाविरुद्ध उपलब्ध हुन नसके भारतसँग सञ्जु सामसनलाई ओपनिङमा उतार्ने विकल्प छ । न्युजिल्यान्डविरुद्ध सामसनको कमजोर प्रदर्शनपछि पहिलो रोजाइका विकेटकिपर–ब्याटरको रूपमा इशान किसनलाई प्राथमिकता दिइएको थियो ।

टेन डोएशाटेले भने, ‘हामी अभिको फिटनेस प्रतिक्षा गरिरहेका छौं, त्यसपछि टोली संयोजनबारे निर्णय हुनेछ ।’

यसैबीच भारतका लागि सकारात्मक खबर पनि आएको छ । अमेरिकाविरुद्धको पहिलो खेल बिरामीका कारण गुमाएका जसप्रित बुमराह नामिबियाविरुद्ध खेल्ने तयारीमा छन् । उनले मंगलबार दिल्लीमा प्रशिक्षण गर्दै पूर्ण गतिमा बलिङ गरेका थिए ।

त्यस्तै, न्युजिल्यान्डविरुद्धको शृंखलामा साइड स्ट्रेन व्यहोरेका अलराउन्डर वासिङ्टन सुन्दर पनि निको भएर टोलीमा फर्किएका छन् । उनले मंगलबार नेट्समा बलिङ र ब्याटिङ दुवै अभ्यास गरेका थिए ।