काठमाडौं । जननेता मदन भण्डारीको नेतृत्वमा तत्कालिन समयमा पार्टीले चलाएको अभियानले नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा स्थापित भएको एमालेका महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ती जारी गरेर उक्त कुरा बताएका हुन ।
उनले भनेका छन, त्यही जगमा नेकपा (एमाले) आज जनतामा लोकप्रिय पार्टीका रुपमा स्थापित छ । उहाँले नै वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो ।
छरिएका वाम पार्टीहरूलाई गोलवन्द गर्न तथा लोकतन्त्र पक्षधर गैरवाम शक्तिहरुसँग कार्यगत एकता गरी त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता र निष्कर्षका आधारमा तत्कालिन माले पार्टीले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सफल भएको पनि महासचिव पोखरेले बताएका छन ।
पोखरेलले विज्ञप्तीमा भनेका छन, भूमिगत राजनीतिदेखि खुल्ला राजनीतिसम्म आइपुग्दा जननेता भण्डारीले नेपालको बाम र लोकतान्त्रिक आन्दोलनमा शिखर स्थान बनाउन सफल बन्नुभएको थियो । २०४७ सालमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीचमा एकीकरण गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । यी दुई पार्टी एकीकृत भएर नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण बनेको थियो ।
बैचारिक रुपमा प्रखर नेता भण्डारी कम्युनिष्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर नवीन विचार प्रतिपादक तथा अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो । जननेता भण्डारीले हामीलाई छाडेर जानु भए पनि उहाँले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’बाट हामी मार्गनिर्देशित छौं । वर्तमान राजनीतिक परिवेशमा उहाँले स्थापित गर्नुभएको विचार झनै सान्दर्भिक र समयसापेक्षित बन्दै गइरहेको छ । त्यसैले हामीले उहाँलाई भावनात्मक हिसाबले मात्र कदापि बुझ्नुहुँदैन् । उहाँलाई एउटा व्यक्तिलाई बुझ्ने जस्तो मात्र कुरा भन्दा पनि यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकास क्रमलाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो,उनले विज्ञप्तीमा उल्लेख गरेका छन। Madan-Aashrit-Memorial-Day








































