कैलाली । कैलाली-१ बाट चुनावी मैदानमा रहेका एमाले उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले घोषणापत्र सार्वजनिक गरेका छन् ।
टीकापुरमा एक कार्यक्रमबीच सार्वजनिक उनको घोषणापत्रमा स्थानीय विकास, रोजगारी सिर्जना, सुशासन, शिक्षा-स्वास्थ्य सुधार र जनउत्तरदायित्वलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ ।
उनले भने, ‘कैलाली–१ ले प्रतिनिधि त पायो, तर आवाज पाउन सकेन । अब संसद्मा यो क्षेत्रको मुद्दा मजबुत रूपमा उठाउने समय आएको छ ।’
न्यौपानेले कैलाली-१ को भौगोलिक, सामाजिक र आर्थिक अवस्थालाई समेटेका छन् । सडक, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा अझै नागरिकको अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गर्दै न्यौपानेले प्रतिनिधि सभामा पुगेर संघीय सरकारबाट क्षेत्रका लागि पर्याप्त बजेट र योजना ल्याउने प्रतिबद्धता जनाएका छन् ।
ठूलो संख्यामा युवा रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जान बाध्य भएको अवस्थालाई अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गरिने उल्लेख छ । कृषि आधुनिकीकरण, स्थानीय उत्पादनमा आधारित उद्योग, थारू तथा स्थानीय संस्कृतिमा आधारित पर्यटन प्रवद्धनमार्फत रोजगारी बढाइने उनले समेटेका छन् ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र युवालाई सीपमूलक तालिम प्रदान गर्ने नीति अघि सारिएको छ । ग्रामीण तथा सीमान्तकृत बस्तीमा आधारभूत स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्याइने उनको प्रतिबद्धता छ । स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति, दक्ष स्वास्थ्यकर्मीको व्यवस्था तथा विपन्न वर्गका लागि निःशुल्क उपचारको दायरा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।
घोषणापत्रमा सुशासन र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रतिनिधि सभामा पुगेर पारदर्शी कानुन निर्माण, सार्वजनिक खर्चमा कडा निगरानी र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न पहल गरिने न्यौपानेले बताएका छन् ।
युवालाई केन्द्रमा राखेर विशेष कार्यक्रम ल्याउने भन्दै उनले सीप विकास, उद्यमशीलता, खेलकुद र नवप्रवर्तनमा लगानी बढाई कैलाली-१ का युवालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन् ।
उनको एजेन्डामा पर्यावरण संरक्षण र दिगो विकासलाई पनि घोषणापत्रमा समेटिएको छ ।






































