काठमाडौँ । नेपाल व्यवस्थापन संघको अध्यक्षमा हेमकुमारी अधिकारी निर्वाचित भएकी छन् । संघको ४५ औँ वार्षिक साधारणसभा २२ औँ प्रबन्ध समितिले अधिकारीलाई अध्यक्ष चयन गरेको हो । निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत गुणराज भट्टका अनुसार संघको सबै पदहरूमा निर्विरोध निर्वाचन सम्पन्न भएको छ ।
त्यसैगरी,उपाध्यक्षमा जितेन्द्र धिताल (कर्मचारी सञ्चय कोष) र कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् । कार्यसमितिको अन्य पदाधिकारीहरूमा महासचिवमा इन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकारी सदस्यहरूमा मधुप पौडेल, बुद्धिकुमार मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुणकुमार सिग्देल, धर्मानन्द अवस्थी, कृष्णप्रसाद शर्मा र कृष्णकुमार भट्टराई रहेका छन् ।
त्यसैगरी, संस्थागत सदस्यहरूका तर्फबाट उर्मिला श्रेष्ठ, महेश शर्मा ढकाल, देवेन्द्र रमण खनाल र पर्वतकुमार कार्की चयन भएका छन् । नयाँ कार्यसमितिले संघको गरिमालाई अझ उँचो बनाउँदै नेपालको व्यवस्थापन क्षेत्रको विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
संघले शनिबार काठमाडौँमा एक विशेष समारोहका बिच आफ्नो वार्षिक उत्सव र महाधिवेशन सम्पन्न गरेको हो । समारोहको उद्घाटन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका थिए ।
प्रधानन्यायाधीश राउतले देशको समग्र विकास र सुशासनका लागि दक्ष व्यवस्थापनको भूमिका अपरिहार्य रहेकोमा जोड दिए ।







































