वि.सं.२०८३ वैशाख ७ सोमवार

नेकपा समायोजन गर्न सुदूरपश्चिममा संसदीय दलको बैठक बस्दै, साबिक नाउपा र नेकपा एसको असन्तुष्टि

khanepani

कैलाली । साबिक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी समायोजन गर्न आज संसदीय दलको बैठक बोलाइएको छ ।

केन्द्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको सहमतिपछि सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता चयन गर्ने गरी ९ बजे बैठक बस्न थालेको हो । स्रोतका अनुसार केन्द्रले खगराज भट्टलाई संसदीय दलको नेता बनाउने गरी पत्र पठाइसकेको छ। आज त्यसलाई अनुमोदन गर्न बैठक आह्वान गर्न लागिएको हो ।

साबिक माओवादी केन्द्रको प्रमुख सचेतक गीता मालले केन्द्रबाट आएको पत्र अनुसार संसदीय दलको बैठकमा छलफल हुने र थप एजेन्डा छलफलले तय गर्ने बताइन् ।

‘विस्तृत एजेन्डाबारे धेरै जानकारी छैन । साबिकका दलहरू मर्ज गर्ने आजको बैठकको मूल उद्देश्य हो, त्यहाँ छलफल गरेर एजेन्डा तय हुन्छ,’ उनले भनिन्, ‘ माथिबाट पत्र आइसकेको छ, थप बैठकमै छलफल हुन्छ ।’

हिजो दिउँसो ३ बजे बैठक बस्ने तयारी थियो तर तर तयारी पूरा नभएपछि आज बिहान ९ बजेका लागि बैठक आह्वान गरिएको हो ।

‘१७ गते बैठक बस्न खोजेको थियो । त्यो बेला संसदीय दलको नेताको पत्र नआएको कारण रोकियो, हिजो पनि बैठक बस्ने भनिएको थियो तर, नागरिक उन्मुक्ति पार्टीसँगको छलफल पछि आज ९ बजे बैठक बोलाइएको छ,’ साबिक माओवादीका एक नेताले भने, ‘केन्द्रबाट खगराज भट्टलाई दलको नेता तोकेर पठाएको छ, हामीले त्यसलाई अनुमोदन गर्ने हो ।’

सुदूरपश्चिम प्रदेशमा सभामुखसहित साबिक माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादीका निलम्बन बाहेकका ३ सांसद छन् । केन्द्रमा पार्टी एक भए पनि सुदूरपश्चिम प्रदेश संसदीय दलमा भने समायोजन भएको छैन । आज समायोजन गर्ने गरी बैठक आह्वान गरिए पनि साबिक नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीभित्र भन असन्तुष्टि देखिएको छ ।

साबिक नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले आजको संसदीय दलको बैठकमा आफू सहभागी नहुने बताए । ‘हामी कानूनी परामर्शमा छौँ । निर्वाचन आयोगले पार्टी एकतालाई वैधता दिने वा नदिने भन्ने विषय बुझिरहेका छौँ,’ उनले भने, ‘आजको संसदीय दलको बैठकमा उपस्थित हुन्नँ ।’

नागरिक उन्मुक्ति पार्टीकै अर्का सांसद कैलाश चौधरीले पनि आफूलाई आज दलको बैठकबारे कुनै जानकारी नभएको बताए । ‘खगराज जीले मलाई फोन गर्नु भएको थियो । दलको बैठक छ, म्यासेज आउँछ भन्नु भएको थियो । मैले म्यासेज कुरेर बसेको छु, आएको छैन,’ उनले भने ।

साबिक नाउपा मात्रै होइन साबिक नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेश शाहीले पनि आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए ।
‘ए हो र , बैठक छ आज ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘मलाई यस विषयमा जानकारी छैन। एक्लै बसेर दलको नेता चयन गर्ने भए गरे हुन्छ । हामी अहिले निर्वाचनमा केन्द्रित छौँ ।’

केन्द्रले संसदीय दलको नेता मात्रै चयन गर्ने गरी पत्र पठाएको छ । तर, साबिक नाउपा र नेकपा एकीकृत समाजवादीको असन्तुष्टिले आजै पत्र कार्यान्वयन हुने सम्भावना क्षीण बनेको छ ।

ranechhap