15, May, 2024

महाधिवेशनका लागि पौडेल र सिटौलाले खोले कार्यालय

Bagmati Voice
संवाददाता
१२ श्रावण २०७७, सोमबार ११:२५ | ३ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण थालेसँगै केन्द्रमा गुट-उपगुटका बैठक सुरू भएका छन्। फागुनमा हुने १४ ‍औं महाधिवेशनका लागि नेतृत्व लिन केही दिनदेखि नेतापिच्छेका गुट बैठक चलिरहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन तयारीका लागि कार्यालय खोलिसकेका छन्। अनामनगरमा रहेको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको कार्यालयलाई पौडेलले महाधिवेशन तयारी कार्यालयका रूपमा भेटघाट सुरू गरेका हुन्।

उनले लकडाउन अवधिमा पनि सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको अगुवाइमा जुममार्फत् प्रदेश र जिल्लाका नेता/कार्यकर्तासँग बाक्लो अन्तर्क्रिया गरेका थिए। पूर्वमहामन्त्री सिटौलाले महाराजगञ्जस्थित एक घरमा महाधिवेशन सम्पर्क कार्यालय खोलेका छन्।

सिटौलाले शुक्रबार उक्त कार्यालयमै आफू निकटका नेताहरूसँग भेटघाट सुरू गरे। २०७२ सालमा १३ औं महाधिवेशनका बेला सिटौला सभापति उम्मेदवार थिए।

उक्त खेमाबाट गगन थापा महामन्त्रीको उम्मेदवार थिए। कांग्रेसमा सभापति निर्वाचित हुन महाधिवेशनमा खसेको सदर मतको ५० प्रतिशत प्राप्त गर्नुपर्छ।

गएको महाधिवेशनमा सभापति उठेका शेरबहादुर देउवा, पौडेल र सिटौलाले कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत कटाउन सकेनन्। दोस्रो चरणमा सिटौलाले देउवालाई सघाएपछि उनी सभापति चुनिएका थिए।

महाधिवेशनमा देउवालाई सघाए पनि त्यसपछि सिटौला देउवाको कार्यशैलीसँग असन्तुष्ट छन्।

यसबीचमा सिटौला पौडेलतिर पनि नजिकिए। महाधिवेशन कार्यतालिका जारी लगायत विषयमा पौडेलतिर मन मिलाएका सिटौला अब पुन: आफ्नो पुरानै गुट क्रियाशील बनाउने पक्षमा देखिएका छन्।

गगन थापा शेखर कोइरालासँग, प्रदीप पौडेल वरिष्ठ नेता पौडेलसँग, भीमसेनदास प्रधान र उमाकान्त चौधरी सभापति देउवासँग नजिकिएको भन्ने हल्लासँगै सिटौलाको मनमा चस्का परेको छ।

उनले युवा नेतालाई आफैंसँग राख्ने रणनीतिअनुसार महाधिवेशन सम्पर्क कार्यालय मात्र खोलेनन् बैठक नै गरेर अब जिल्लादेखि नै बलियोसँग अगाडि बढ्ने निर्क्यौल गरेका छन्।

सिटौलाले डाकेको भेलामा सहभागी नेता भीमसेनदास प्रधानका अनुसार सिटौलाले महाधिवेशन केन्द्रित भेटघाटलाई तीव्रता दिएका छन्।

‘म, गगन, प्रदीप, उमाकान्तलगायत साथीहरूसँग सिटौलाजीले छलफल गर्नुभएको हो। संगठन बलियो बनाउँदै जाने भन्ने कुरामै छलफल केन्द्रित रह्यो,’ प्रधानले भने।

सिटौलाले महाधिवेशनमा आफू पुन: सभापति उठ्ने प्रष्ट संकेत दिएका छन् तर यसबारे सार्वजनिक रूपमा भने बोलेका छैनन्।

अहिले नै सभापति उम्मेदवारी घोषणा गर्दा क्रियाशील सदस्यता वितरण तथा नवीकरणकै काममा प्रभाव पर्न सक्ने भन्दै सिटौला सजक छन्।

कांग्रेसमा क्रियाशील सदस्यता हरेक महाधिवेशनमा विवादमा पर्ने गर्छ। गत महाधिवेशनमा चार लाख ८० हजार क्रियाशील कार्यकर्ता थिए। त्यो संख्या अहिले बढ्न सक्छ।

क्रियाशील सदस्यहरूले क्षेत्रीय प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिबाट आउने महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा नेतृत्व चयन गर्छन्।

कांग्रेसले अन्तरिम संरचना समायोजन सकेका ६० बढी जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम गरिरहेको छ।

केन्द्रबाट क्रियाशील सदस्यको अन्तिम नामावली पठाएपछि मात्रै तल्ला तहमा अधिवेशन सुरू हुन्छ। तल्ला तहको अधिवेशन पुस ६ गतेदेखि गर्ने कांग्रेसको तयारी छ।

कांग्रेसमा १३ औं महाधिवेशनदेखि बनेका तीन गुट मुख्य रूपमा क्रियाशील छ। यी गुटभित्र उपगुट पनि छन्।

वरिष्ठ नेता पौडेल पनि सभापतिका स्वभाविक दाबेदार छन् तर उनले पनि मुख खोलेका छैनन्। देउवाइतर समूहलाई एकीकृत गर्न सके मात्रै महाधिवेशन आफ्नो पक्षमा आउने सोचेर उनले टिममा छलफलपछि मात्रै सभापति उठ्ने/नउठ्नेबारे घोषणा गर्ने बताउँदै आएका छन्।

पौडेल निकट कांग्रेसका एक नेता भन्छन्, ‘देउवालाई हराउन अरू सबै एकतिर हुनुपर्छ भन्ने पौडेललाई राम्रोसँग थाहा छ। कोइराला परिवारदेखि सिंह र केसीलगायत नेतालाई मिलाउनुपर्ने हुन्छ। यसबारे गहिरोसँग छलफल भइसकेको छैन।’

१३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री उठेका अर्जुननरसिंह केसी अहिले पौडेलसँग नजिकिएका छन्।

उनले आइतबार भेला गर्दै देउवाले विभाग गठन र पूर्णता दिएर महाधिवेशन प्रभावित पार्न खोजेकोले विरोध गर्नुपर्ने बताएका थिए।

कोइराला परिवारका शेखर र शशांक कोइराला दुवै सभापतिको आकांक्षी छन्। अघिल्लो पटक महामन्त्री जितेका शशांक स्वभाविक रूपमा आफूलाई सभापतिको दाबेदार ठान्छन्। तर कोइराला परिवारबाटै शेखरले उनलाई चुनौती दिएका छन्। अघिल्लो महाधिवेशन लगत्तै देखि जिल्ला दौडधुपमा लागेका शेखरले यसपालि देउवाइतर क्याम्पमा सहमति भए पनि/नभए पनि आफू सभापतिमा उठ्ने निकटहरूसँग बताउँदै आएका छन्।

यतिमात्र गणेशमान सिंहका छोरा पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिको आकांक्षी छन्।

सबैलाई मिलाएर लैजान सक्ने अर्को नेतृत्व पार्टीभित्र नदेखेकोले एकपटक फेरि आफैं सभापतिमा उठ्ने देउवाले आन्तरिक बैठकहरूमा बताएका छन्।

देउवा निकट सहमहामन्त्री प्रकाशशरण महत भने अहिले नै महाधिवेशनलाई लिएर तरंगित हुने बेला आइनसकेको बताउँछन्।

‘हाम्रो टिममा कसले कुन पदमा उठ्ने भन्ने छलफल नै भएको छैन,’ महतले भने, ‘महाधिवेशन आउन छ/सात महिना छ। तलबाट नेतृत्व चुनिँदै आएपछि तयारी गरे भ्याइन्छ, अहिलेदेखि हतार गर्नुपर्ने छैन।’

उनले महाधिवेशनका लागि अहिलेदेखि नेताहरूलाई गाली गर्ने र होच्याउने प्रवृत्ति बन्द गरिनुपर्ने बताए।

‘अहिलेदेखि नै बाजा बजाएर फलानो नेताले केही गर्न सकेन भन्ने गरिएका छन्। फलानो खराब म ठीक भन्नुपर्दैन, नचिनेका नेता र कार्यकर्ता होइनन्। सबले सबैलाई चिनेकै छ,’ उनले भने।

सबै नेताको काम कार्यकर्ताले राम्रोसँग देखेको भन्दै उनले तल्ला तहमा अधिवेशन सकिएपछि महाधिवेशनमा को के पदमा उठ्ने भन्ने छलफल गरे हुने बताए।

‘अर्कोभन्दा म राम्रोसँग पार्टी चलाउन सक्छु। राम्रो काम गर्न सक्छु भनेर भिजन देखाउनुपर्‍यो, नेताहरूलाई खुल्याएर केही हुन्न,’ उनले भने।

निधिले मागे शशांकको साथ

उपसभापति विमलेन्द्र निधि पनि सभापतिका आकांक्षी देखिएका छन्। उनले केही दिनअघि महामन्त्री शशांक कोइरालासँग भेटेर महाधिवेशनमा आफूलाई सघाउन आग्रह गरेका थिए।

‘उपसभापति निधि र महामन्त्रीबीच भेटघाट भएको हो। त्यो भेटमा उपसभापति निधिले अबको महाधिवेशनमा आफूलाई नेतृत्वमा सघाएर जान आग्रह गर्नुभएको थियो,’ महामन्त्री कोइरालानिकट एक नेताले भने, ‘जवाफमा महामन्त्री कोइरालाले पनि आफू पनि नेतृत्वको दौडमै छु भन्नुभयो।’

उपसभापति निधिले सभापति देउवालाई यसपटक आफूलाई छोड्नुपर्ने बताउने गरेको स्रोतको दाबी छ।

१३ ‍औं महधिवेशनमा देउवाले आफ्नो साथ लिएको र त्यसबेला १४ औं महाधिवेशनमा सघाउने बचन दिएको निधिले आफूनिकटका नेतालाई बताउने गरेका छन्।

तर निधिले आफू सभापतिमा उठ्नेबारे अहिलेसम्म सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छैनन्।

कोइराला परिवारबाट को?

कांग्रेसभित्र कोइराला परिवारमै एकजुट देखिएको छैन। महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला दुई जना नै सभापतिका आकांक्षी छन्।

स्रोतकाअनुसार शेखरले शशांकलाई यसपटक आफूलाई छोड्न आग्रह गरे पनि शशांकले मुख खोलेका छैनन्। सुजाता कोइराला पनि मौन छिन्।

आफू सबै जिल्लामा कम्तिमा दुई पटक गएर कार्यकर्ता भेटघाट गरेको र पार्टीका तल्ला तहका कार्यकर्ताको भावना बुझेकोले आफू सभापतिको उम्मेदवार हुने शेखरको दाबी छ।

१२ श्रावण २०७७, सोमबार ११:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading