बझाङ । बझाङको साइपाल गाउँपालिका–३ मा रहेको काँडा माध्यमिक विद्यालयको भवनको छाना हावाहुरीले उडाउँदा विद्यालयमा पठनपाठन प्रभावित भएको छ।
शुक्रबार राति परेको भीषण हावाहुरी र पानीका कारण विद्यालयको छाना पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। विद्यालय भवनको छाना उडाउँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ।
भवन क्षतिग्रस्त भएपछि कक्षा कोठाको अभाव भएको र त्यसका कारण विद्यार्थीलाई नियमित पठनपाठन गराउन कठिनाइ भइरहेको विद्यालयका प्रधानाध्यापक रमेश जेठाराले बताए।
उनले भने, ‘छाना उडेपछि कक्षाकोठा प्रयोग गर्न नमिल्ने अवस्था छ। विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको छ।’
विद्यालयका शिक्षक उज्वल बोहराले क्षतिको विवरण संकलन गरी प्रहरी कार्यालयमा बुझाइसकेको जानकारी दिए। उनले विद्यालयको पुनर्निर्माणका लागि स्थानीय सरकारसँग सहयोगको माग गरिएको बताए। उक्त राति हिमपात समेत भएकाले चिसोका कारण थप समस्या भएको विद्यार्थीहरूले बताएका छन्। कक्षा ९ मा अध्ययनरत विकास गुरुङले विद्यालयको भवन क्षतिग्रस्त हुँदा पढाइ प्रभावित भएको बताए।









































