काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि सञ्चालन गरेको ‘ट्राफिक सप्ताह २०८२’ भोलि माघ ३ गते समापन हुँदैछ। पुस २६ गतेदेखि सुरु भएको यस अभियानले साताभर उपत्यकाका विभिन्न स्थानमा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी विविध सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेको थियो। अभियानको समापन भोलि दिउँसो २ बजे ठमेलस्थित सञ्चयकोष भवन अगाडि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा हुने तय भएको छ, जहाँ ख्यातिप्राप्त कलाकार र प्रहरी टोलीले विशेष सांगीतिक तथा सचेतनामुलक प्रस्तुति दिनेछन्।
ट्राफिक सप्ताहको औपचारिक सुरुवात हुनुअघि पुस २५ गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसमा प्रहरी र नागरिक गरी १३९ जनाले रक्तदान गरेका थिए। पहिलो दिन वसन्तपुरबाट सुरु भएको भव्य र्यालीमा करिब १० हजार मानिसको सहभागिता रहेको थियो। सोही अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जनस्तरबाट पुनर्निर्मित भवन र मेट्रो ट्राफिक एफएमको नियमित प्रसारणको समेत उद्घाटन गरेका थिए। सप्ताहभर ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई ५० हजारभन्दा बढी पर्चा पम्प्लेट वितरण गरेको छ भने यस अभियानबाट ३ लाख ८० हजारभन्दा बढी नागरिक लाभान्वित भएको ट्राफिक प्रहरीको दाबी छ।
अभियानका क्रममा सवारी चालक, परिचालक र पैदलयात्रुलाई सुरक्षित बाटो काट्ने तरिका र ट्राफिक नियमबारे सचेत गराइएको थियो। साताभर चालकहरूसँग चिया कार्यक्रम, निःशुल्क आँखा जाँच, यान्त्रिक परीक्षण, जेब्रा क्रसिङ र रोड मार्किङ व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भए। साथै, सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन र घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै भेटघाट कार्यक्रम समेत गरिएको थियो। ट्राफिक प्रहरीको स्वास्थ्यलाई ध्यानमा राखी इन्फ्लुएन्जा भ्याक्सिन लगाउने कार्यको पनि यसै अवधिमा सुरुवात गरियो।
स्थानीय निकाय, नेपाली सेना, सशस्त्र प्रहरी र विभिन्न शैक्षिक संस्थाहरूको सहयोगमा सञ्चालित यस कार्यक्रमले सडक अनुशासन कायम गर्न ठूलो भूमिका खेलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सप्ताहव्यापी अभियान भोलि समापन भए तापनि सवारी दुर्घटना न्यूनीकरण र व्यवस्थापनको नियमित कार्यलाई उत्तिकै महत्वका साथ निरन्तरता दिने प्रतिबद्धता ट्राफिक प्रहरीले व्यक्त गरेको छ। भोलिको समापन समारोहमा उत्कृष्ट सहयोग पुर्याउने विभिन्न व्यक्तित्व र संस्थाहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।









































