वि.सं.२०८२ फागुन २४ आइतवार

विपद् व्यवस्थापनमा समुदायको क्षमता बढाउन गृहमन्त्री अर्यालको जोड

khanepani

काठमाडौं । ‘सबै तहका सरकार, सवै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।

वि स १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जोडिएको छ ।

विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।

स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले, भूकम्पीय क्षति घटाउन पूर्व तयारीको संयन्त्र बलियो बनाउनु पर्ने बताउँदै यसका लागि अन्तरसरकार समन्वय बढाउँदै लैजानु पर्ने, स्थानीय सरकारहरुबाट भएका प्रयासहरुलाई संस्थागत गर्दै लैजानु पर्ने बताए।

‘आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ । उनले भने,‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानु पर्छ ।’

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको औजार बनाउपर्नेमा जाेड दिइन् ।

‘विपद्का समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो ।’ डंगोलले भनिन्, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सिपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।’

‘भूकम्पजस्ता विपद्को क्षति सम्झना गर्न थालेको धेरै भएकाे भन्दै अब क्षति हुन नदिने प्रणाली विकास गर्नमा काम गर्नु पर्ने बेला आएको महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले बताए ।

उनले भने, ‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवर्धन गरौँ ।’

विगतका भूकम्पले मानव समाज, भौतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पुर्‍याएको प्रतिकुल असरको लेखाजोखा गरेर विपदका समयमा सकेसम्म सुरक्षित बनाउन, जुझारु उत्थानशील सहरका रुपमा रुपान्तरण गर्न संकल्पमा जोड दिइएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

यस वर्ष काठमाडौँ महानगरपालिकाले आज दिउँसो १ बजे खुला मञ्चमा मूल समारोह आयोजना गर्नेछ । यस अवसरमा विपद पूर्वतयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि, सेवा प्रदर्शन गरिनेछ ।

विश्वमान चित्रमा भूकम्पजन्य विपदका दृष्टिले नेपाल ११ औँ स्थानमा छ ।

स्मृति सभामा आगलागी, सडक दुर्घटना तथा विपदजन्य जोखिममा काम गर्ने नगर प्रहरीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनु हुनेमा नगर प्रहरी हवल्दार विपिन घिमिरे, नगर प्रहरी जवान बिरेन्द्र शाही, नगर प्रहरी जवान पुष्पन आले मगर, सशस्त्र प्रहरी हवल्दार आइतसिंह तामाङ्, सशस्त्र प्रहरी जवान जसबिर शाह तेली छन् ।