वि.सं.२०८२ पुस ३० बुधवार

उज्यालो नेपालसँगको सहकार्य अन्त्य भएको रास्वपाको दाबी

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उज्यालो नेपालसँगको सहकार्य सम्भावना अन्त्य भएको निष्कर्ष निकालेकाे छ । उज्यालाेकाे तर्फबाट अघि सारिएका केही मागहरु पूरा गर्न नसकिने निष्कर्षमा रास्वपा नेतृत्व पुगेकाे हाे ।

रास्वपाले मानेको लोकतान्त्रिक सिद्धान्तमा पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग उज्यालाे पार्टीबाट राखिएकाे नेताहरुले राखेकोमा नेताहरुले बताएका छन् । रास्वपा प्रवक्ता मनिष झाले भने,’ अवस्था परिवर्तन गर्ने हाम्राे अभियान हो, व्यवस्था र संविधानमा विमति नरहेको स्पष्ट धारणा रास्वपाले राखेपछि त्यसमा कुरा मिलेन ।’

वार्ताका क्रममा संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाको कुरामा उज्यालो पार्टीले फरक धारणा राख्नुपर्ने बताएकाे रास्वपा नेताहरुकाे भनाइ छ ।

पदाधिकारीमा अहिले भएकोमा थप तीनवटा पद दिनुपर्ने शर्त उज्यालाे पार्टीले राखेको रास्वपाका एक नेताले बताए।

उनले भने, ‘साथै वरिष्ठ उपसभापति कुलमानजीलाई दिनुपर्ने,थप एक महामन्त्री राखेर त्यो उज्यालो नेपाल पार्टीको भागमा पर्नुपर्ने शर्त राखेपछि हामी सहमत भएनाै‌ं ।’

आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै जानुपर्ने उज्यालो पार्टीको मागमा रास्वपा नेतृत्वले विमति जनाएको बुझिएकाे छ ।
भविष्यमा सरकार बन्दै गर्दाखेरि सृजना हुने राज्यको विभिन्न अवसरहरूको बारेमा अहिले भागबण्डा गरेर अगाडि बढ्नुपर्ने धारणा कुलमान पक्षको रहेको दाबी रास्वपा नेताहरुले गरेका छन् ।

एक पदाधिकारीले भने, ‘यो देश बदल्ने अभियान हो। यहाँ एउटा निर्वाचन र त्यसको उपलब्धिमै सबै छलफल सिमित नगरौँ भन्ने हाम्राे तर्क रहयाे। रास्वपा र उज्यालो नेपाल पार्टीबीचको सहकार्य औपचारिक रुपमा टुंगिएको घोषणा मात्र हुन बाँकी रहेको छ।’