वि.सं.२०८२ पुस ३० बुधवार

खेलकुदमन्त्री भन्छन्, ‘सबैले मिलेर लखेटे, ताल परे राजीनामा दिएर जान सक्छु’

khanepani

काठमाडौं । खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणले गम्भीर विवाद निम्त्याएको छ । मन्त्रीले बनावटी कार्यक्रम बनाएर अमेरिकाको भिसा लगाउन खोजेको आरोप कतिपयले लगाएका छन् ।

मन्त्रिपरिषदले एनआरएनएको कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति दिएको थियो । तर, अमेरिकामा एनआरएनएको कुनै कार्यक्रम नै नरहेको समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि विवाद उब्जिएको हो । आज एनआरएनए अमेरिकाका नाममा दुई वटा फरक आशयका विज्ञप्ति जारी भएपछि झनै संशय बढ्यो ।

मन्त्री गुप्ता भने अनावश्यक रुपमा विवादको विषय बनाइएको बताउँछन् । आफूले भिसा प्रोसेस नै नगरी मिडिया र सामाजिक सञ्जालमा विभिन्न आरोप लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

अमेरिका जाने मनस्थिति त्याग्नु भएको हो ? भन्ने प्रश्नमा भने उनले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन् । मन्त्री गुप्तासँग गरेको संक्षिप्त कुराकानी:

मन्त्रीज्यू, तपाईँले अमेरिका जाने कार्यक्रम रद्द गर्नुभएको हो र ?

मेरो भिसा प्रोसेस नै गरेको थिएन । भिसै नभईकन कसरी जाने ?

अब भिसा प्रोसेस नगर्ने निर्णयमा पुग्नुभएको हो ?

भिसा नै प्रोसेस गरेको छैन, तस्कर भन्छन्, के भन्छन् । खोइ के हो के हो ?

एनआरएनएको नाममा दुई वटा विज्ञप्ति आएका छन्, कुन चाहिँ आधिकारिक हो त ?

आज एनआरएन संस्थाको केन्द्रबाट नै आधिकारिक विज्ञप्ति निकाल्दै हुनुहुन्छ रे । आज बेलुकासम्म केही आउँछ होला । त्यसपछि प्रष्ट भइहाल्छ । हाम्रो भिसा नै लाग्या छैन । न प्लेनको टिकट छ । न कसैलाई केही गर्‍या छ । किन यसरी सबै जना मिलेर लखेटेका हुन् ?

भिसा हुनुपर्‍यो नि त । प्लेनको टिकट हुनुपर्‍यो होला । राज्यको खर्च लिएको छ कि छैन भन्ने कुरा होला । ५–७ जना मानव तस्कर गर्न लाग्यो भनेर पनि लेखेका छन् ।

तपाईँ एक्लै जान लाग्नुभएको थियो ?

यसो हो क्या, निमन्त्रण आएको हो । त्यहाँ मात्र होइन, धेरै वटा कन्ट्रीबाट इन्भिटेसन आएको छ, हाम्रो प्रोग्राममा आइदिनुस् भनेर । इन्भिटेसन आएकै भरमा अमेरिका जान लागेको छ, राज्यको पैसा दोहन गर्न लाग्यो भन्न पाइएन नि ।

अमेरिकाबाट फर्केर राजीनामा दिन्छु भन्नु भएको विषय पनि सामाजिक सञ्जालमा भाइरल छ, कोसित भन्नुभएको हो ?

कतै पनि भनेको छैन त्यस्तो मैले । बोलेको भए देखाउनुपर्‍यो । यहाँ त जे लेखेर हाले पनि हुने रहेछ । मान्छेले आफैँ न्यारेटिभ बनाइरहेका छन् ।

अनि अमेरिका जाने कि नजाने त अब ?

भनिहालेँ नि, हामीले भिसै प्रोसेस गरेको छैन । भिसै प्रोसेस नगरिईकन के माइन्डसेट बनाउने, भन्नुस् त ।

तर मन्त्रिपरिषदले भ्रमण स्वीकृति त दिइसकेको हो नि ?

क्याबिनेटले त यस्तो हो । एक महिना अगाडि डिसेम्बर ५ मै पठाएको थियो नि त । अहिले आएर किन विवाद खडा गरियो ? ३ गते अमेरिका उड्ने, ६ गते उम्मेदवारी दिन जाने रे, खोइ के के हो के के ।

तपाईँ सहभागी हुने भनेको एनआरएनको कार्यक्रम चाहिँ कुन मितिमा कहाँ हो ?

मैले पेपर पनि हेरेको छैन । कार्यक्रमहरू त थुप्रै आएको छ । युकेको, अष्ट्रेलियाको आएको छ ।

तपाईँ अमेरिका नजाने मनस्थितिमा चाहिँ पुग्नुभएको हो कि होइन स्पष्ट भनिदिनुस् न ?

नजाने वा जाने भन्दा पनि मेन कुरा भिसै प्रोसेस नगरिईकन कसरी हुन्छ ? यत्तिकै अफवाह फैलाइयो ।

अब प्रोसेस चाहिँ गर्नुहुन्छ कि गर्नुहुन्न ?

प्रोसेस त… पहिले पनि माइन्ड सेट बनाएको थिएन । अहिले पनि बनाएको छैन । ताल पर्‍यो भने म राजीनामा दिएर जान सक्छु । नजान पनि सकिन्छ ।

भन्नाले, राजीनामा दिने पनि सम्भावना छ ?

राजीनामा त किन दिने र ? हामीले के चैँ गल्ती गरेको छ र ?

प्रधानमन्त्रीले यो विषयमा तपाईँलाई केही भन्नुभएको छ ?

छैन । किन भन्नुहुन्छ ? उहाँलाई थाहा छ त सबै कुरा । मन्त्रीज्यूले प्रोसेसै गरेको छैन, भन्ने सबै थाहा छ उहाँलाई ।