वि.सं.२०८२ पुस ३० बुधवार

एमालेले राष्ट्रियसभामा लुम्बिनीबाट रामकुमारी झाँक्रीलाई सार्‍यो अगाडि

khanepani

रुपन्देही । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधवार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उनलाई पठाउने निश्चित भएको एमालेका एक नेताले जानकारी दिए ।

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उनलाई अघि सारिएको हो । झाँक्रीले गुल्मीको क्षेत्र नं २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आएकी थिइन् । तर त्यहाँको क्षेत्रीय कमिटीले अहिलेको अवस्थामा उपाध्यक्ष गोकर्ण विष्टलाई नै अघि सार्ने निर्णय गरे पछि उनीसहितका आकांक्षीले केन्द्रबाट सोही क्षेत्रको लबिङ गर्दै आएका छन् ।

मङ्गलवार राती एक्कासि उनलाई राष्ट्रिय सभामा जानका लागि पार्टी हेड क्वाटरबाट प्रस्ताव आएको हो । त्यसअघि बाँकेकी शान्ता ढकालको नाम आएको थियो । तर अन्तिम समयमा झाँक्रीको नाम आएको हो ।

बाँकेकी ढकालले बुधवार मनोनयन दर्ताका लागि निकटस्थहरूलाई खबर गरेकी थिइन् ।रामकुमारी निकट स्रोतले पार्टीबाट त्यो प्रस्ताव आएको स्वीकार गरेको छ ।

राष्ट्रिय सभाका लागि दाङको घोराहीमा बुधवार मनोनयन गर्ने कार्य तालिका रहे पनि मङ्गलवार रातीसम्म नेताहरूको भागबन्डा मिलेको छैन । झाँक्री आफैले राष्ट्रिय सभामा जान अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डुमा बोलाएर मङ्गलवार राती सम्झाएका हुन् । त्यसअघि एमाले सचिव तथा प्रदेश लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले मङ्गलवार साँझ फोन गरेर झाँक्रीलाई बुधवारको मनोनयन गर्न दाङ जान प्रस्ताव गरेकी थिइन् ।

राष्ट्रिय सभामा एमाले र कांग्रेस सहमति गरेर जाने समझदारी भए पनि मङ्गलवार अबेरसम्म कहाँबाट कसलाई दिने भन्ने विषयमा टुंगो लगाउन सकेका छैनन् । यो समाचार तयार पार्दासम्म एमालेको टोली पनि गुण्डुमै छ भने कांग्रेसको टोली पनि सभापति शेरबहादुर देउवाको निवासमा छ ।

लुम्बिनी प्रदेश अन्तर्गत खुला, महिला र अपाङ्गता क्लस्टरबाट एक–एक गरी तीन जना सदस्य चयन हुनेछन्। निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने पदका लागि निर्वाचन तालिका जारी गरेको छ। यसअनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। निर्वाचन नजिकिँदै गर्दा दलहरूले आन्तरिक तयारी र उम्मेदवार छनोटमा जोड दिएका छन्।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार, प्रदेशमा खुला, महिला र अपाङ्गता क्लस्टरबाट क्रमशः एक–एक सदस्य चयन हुनेछ। हाल एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ।

भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट त्यहाँ पुगेका थिए । प्रदेशमा रिक्त तीन सिटका लागि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच देखिन्छ। साना दलहरूको भूमिका निर्णायक हुन सक्ने आकलन गरिएको छ।

प्रदेश सभा सदस्य र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष मतदाता हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमाले बलियो छन् भने नेपाली कम्युनिस्ट पार्टी गठबन्धन गरेर आफ्नो उम्मेदवार जिताउने रणनीतिमा देखिन्छ।

मतभारको अवस्था यस्तो छ लुम्बिनीमा

लुम्बिनी प्रदेशमा कुल मतभार ८,७५३ छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ पुगेको छ। लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४,६८१ र १०९ स्थानीय तह प्रमुख–उपप्रमुखको ४,१४२ रहेको छ।

यसअनुसार राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसको मतभार ३,१७९, एमालेको २,८१० र साविक माओवादीको १,३४३ छ। साविक माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत समाजवादीको १,३४३ थप हुनेछ। साना दलहरूमा राप्रपा २६९, नागरिक उन्मुक्ति पार्टी २१२, जसपा २७३, लोसपा २३५, जनमत १५९, राजमो १२९, जनता प्रगतिशील पार्टी ३८ र स्वतन्त्र ५३ मतभार रहेको छ। खुला, महिला र आपङ्गता क्लस्टरबाट एक–एक गरी तीन जना चयन हुनेछन् ।

प्रदेशमा राष्ट्रियसभाका रिक्त पदका लागि हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । यसले उम्मेदवार मनोनयन, नामावली प्रकाशनदेखि मतदानसम्मका सम्पूर्ण प्रक्रिया अघि बढाउने छ । निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन तालिका घोषणा गरिसकेको छ ।

निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते नामावली प्रकाशनदेखि प्रक्रिया सुरु भई पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। मतदान भने सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।