वि.सं.२०८३ वैशाख २६ शनिवार

देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु

khanepani

काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

काठमाडौं, झापा, मोरङ, सिराहा, धनुषा, मकवानपुर, पर्सा, ललितपुर, पर्वत र इलाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा बिहीबार १० जनाले ज्यान गुमाएका छन् ।

काठमाडौंको गंगाहलस्थित सडकमा बागमती प्रदेश ०१-००२ ज ७८३७ को गाडीको ठक्करबाट पैदलयात्री नयाँ बसपार्क बस्ने जितबहादुर कुँवरको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापा मेचीनगरस्थित कालीखोलामा प्र.१-०१-०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबि ०२ बीआर ७७६५ नम्बरको ट्रकले बिहीबार राति ठक्कर दिँदा स्कुटर चालक लक्ष्मी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर तीन नम्बर ढाटस्थित सडकमा जोगबनीतर्फ जाँदै गरेको प्र.१-०२-०५२ प ९५८७ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सप्तरी तिरहुत गाउँपालिका-५ महुली घर भएका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहा गोलबजारस्थित फूलबारी रिसोर्टनजिक मधेश प्र.१-००१ ह १९१७ नम्बरको अटो अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा अटोमा सवार रजबन्स मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा औरहीको झिटकहिया चोकस्थित सडकमा यदुकुहाबाट पौडेश्वरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ५०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय राजपैत मुखियाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सहयोगी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौंडास्थित तीनताप्केस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट लेवर्ट बस्ने ३४ वर्षीय प्रकाश दाहालको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य १ जनाको सिएमसि चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै पर्साको वीरगंज-२१ स्थित सडकमा वीरगंजबाट सिमरातर्फ जाँदै गरेको ग.२ ख १४५१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२१ पटेल टोल बस्ने २७ वर्षीय कमलेश पटेलको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरस्थित थसीखेलमा बा.४ ख १४७० नम्बरको टिपरको ठक्करबाट पैदलयात्री गोदावरी नगरपालिका-१४ बुढाथोकी टोल बस्ने ४१ वर्षीय दिपेन्द्र सिलवालको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

पर्वत कुश्मास्थित अर्मादीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ खुर्कोट बस्ने ३१ वर्षीय नारायण दर्जीको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ ।

यसैगरी इलाम फाकफोकथुम-४ स्थित राँके रवि भेडेटार सडकमा सप्तमी बजारबाट रवितर्फ आउँदै गरेको बा. ९९ प ८८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीय सुवास सारू मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत अस्पताल रविमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ranechhap