काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्दसूचीमा नाम रहेकी कल्पना मगरले आफ्नो नाम हटाउन आग्रह गरेकी छन् । आफू अहिलेसम्म राजनीतिमा नलागेको र अहिलेसम्म स्वतन्त्र नै रहेको भन्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
राप्रपाले कल्पनालाई आदिवासी- जनताति महिलाको क्लस्टरमा आठौं नम्बरमा राखेको छ । कल्पनाले आफू यस्तो कोटा प्रणालीको पक्षमा नरहेको प्रष्ट पारेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राप्रपाले मलाई जनजाती कोटाबाट समानुपातिक उम्मेदवार घोषणा गरेको रहेछ । सायद म योग्य भएरै एउटा सम्मान स्वरूप मलाई ठाउँ दिएको हुन सक्छ । तर यस्तो कोटा प्रणाली खारेज हुनुपर्छ भनिआएकी थिएँ । जबसम्म जनजाती, आदिवासी र दलित भन्ने कोटा प्रणाली रहिरहन्छ, तबसम्म यो वर्ग समुदाय कहिल्यै माथि उठ्न पनि सक्दैन भन्ने लाग्छ ।’
कल्पनाले आफू राजनीतिमा लाग्ने समय नआइसकेको बताएकी छन् । यद्यपि देश, धर्म र राजाको वकालत गरिरहने र राप्रपाप्रति नैतिक समर्थन रहेको उनको भनाइ छ ।
‘मलाई लाग्छ मैले अहिलेनै राजनीति गर्ने समय आएको छैन । भविस्यमा म राजनितीमा गरौंला नगरौला त्यो समयले नै बताउने छ । अहिलेसम्म म स्वतन्त्र छु र स्वतन्त्र रही आफ्नो जागरण अभियान फैलाउने काम गर्न चाहन्छु । देश, धर्म र राजाको लागि मेरो स्वाभिमान कहिले डगमगाउने छैन । यी गणतन्त्रवादीहरुले मलाई राजाको रैती भनेपनी म ट्याग भिर्न तयार छु । म राप्रपा लाई नैतिक समर्थन गर्छु, गरिरहन्छु । तर मेरो समानुपातिक बाट गएको नाम हटाउन आग्रह गर्न चाहन्छु,’ उनले भनेकी छन् ।









































