वि.सं.२०८३ वैशाख २६ शनिवार

दिगो र व्यवस्थित योजना सञ्चालन गर्न कोशी आयोजना बैंकलाई मुख्यमन्त्री कार्कीको निर्देशन

khanepani

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश आयोजना बैंकलाई समस्या नआउने गरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।

कोशी प्रदेश योजना आयोगको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश आयोजना बैंकमा समावेश भएका योजनाहरूलाई छुट्याएर आगामी दिनमा यसलाई व्यवस्थित र चुस्त ढङ्गले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

कोशी प्रदेशमा भइरहेको बसाइसराइलाई रोक्ने गरी अध्ययन अनुसन्धान गर्न र सो अनुसारको योजना अघि सार्न पनि मुख्यमन्त्री कार्कीले निर्देशन दिएका छन् । योजनाहरूको प्राथमिकिकरण र सीमित स्रोत साधनले पुग्ने गरी आयोजनाहरूको छनोट गर्न र प्रदेशका गौरवका आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्न पनि उनले आयोगलाई निर्देशन दिएका छन् ।

कोशी प्रदेशको योजना आयोगको आज बसेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए ।

प्रदेश आयोजना बैंकलाई विषयगत र तहगत रूपमा एकीकृत गरी एकीकृत प्रणालीको विकास र व्यवस्थापन गर्ने, अन्तर प्रदेश योजना आयोग सम्मेलन गर्ने, प्रदेशका गौरव तथा रूपान्तरणकारी योजना तथा आयोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कन गर्ने निर्णय आजको बैठकले गरेको छ।

कोशी प्रदेश तथ्याङ्क ऐन २०८२ को नियमावलीको मस्यौदा तर्जुमा र एकीकृत तथ्याङ्क प्रणालीको विकास गरी प्रदेशमा तथ्याङ्कलाई व्यवस्थित गर्ने निर्णय समेत गरिएको प्रदेश योजना आयोगले जानकारी दिएको छ।

त्यस्तै घरपरिवारमा उत्पादन गरिने परम्परागत मदिराको ब्रान्डिङका लागि आवश्यक प्रविधि र कानुनी विषयमा थप अध्ययन गरी अघि बढ्ने र यसलाई अन्तिम टुङ्गोमा पुर्‍याउने निर्णय भएको छ।

ranechhap