वि.सं.२०८३ वैशाख २७ आइतवार

सौर्य एयरलाइन्सले भन्यो, ‘मापदण्ड अनुसार पुनः उडान सञ्चालनको प्रक्रियामा छौँ’

khanepani

काठमाडौँ । सौर्य एयरलाइन्सले कमजोर उडान सुरक्षाबीच उडान अनुमति दिन लागिएको भन्ने समाचार भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको छ । पुस १३ गते विभिन्न सञ्चारमाध्यममा प्रकाशित “कमजोर उडान सुरक्षाबीच सौर्य एयरलाइन्सलाई उडान अनुमति दिने तयारी” शीर्षकको समाचारप्रति ध्यानाकर्षण जनाउँदै एयरलाइन्सले लिखित स्पष्टिकरण दिएको हो ।

सौर्य एयरलाइन्सका अनुसार जहाज दुर्घटनापछि नेपाल सरकारले गठन गरेको दुर्घटना जाँचबुझ आयोगले तोकेका सबै सुधारात्मक कार्ययोजना विधिवत रूपमा कार्यान्वयन गरिसकिएको छ । दुर्घटनापछि गरिएको उडान सुरक्षा अडिट, विभिन्न तालिम, दस्तावेज सुधार तथा डिजिटल प्रविधि प्रयोगलगायत सबै विषयमा नियामक निकायसँग निरन्तर समन्वय गर्दै आवश्यक सुधार पूरा भइसकेको कम्पनीको दाबी छ ।

मौखिक आश्वासनको भरमा उडान अनुमति दिन लागिएको भन्ने समाचार पूर्ण रूपमा गलत भएको स्पष्ट गर्दै कम्पनीले प्राधिकरणबाट हुने कुनै पनि निर्णय लिखित प्रमाण, अडिट प्रतिवेदन र नियमअनुसारको प्रक्रिया बिना सम्भव नहुने जनाएको छ ।

सौर्य एयरलाइन्सले यात्रुको सुरक्षा नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उडान सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगरेको र नगर्ने स्पष्ट पारेको छ । नियामक निकायको आन्तरिक विषयलाई आधार बनाएर कम्पनीको प्रतिष्ठा र सुरक्षाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने प्रयास गैरजिम्मेवारपूर्ण भएको पनि एयरलाइन्सको भनाइ छ ।

कम्पनीका अनुसार नियामक निकायले तोकेको मापदण्डअनुसार फ्लाइट सेफ्टीमा ६५.६० प्रतिशत अंक पूरा गरेपछि मात्र पुनः उडान सञ्चालनको प्रक्रिया अगाडि बढाइएको हो । यस विषयमा यात्रु, नियामक निकाय तथा सरोकारवालालाई भ्रममा नपर्न पनि सौर्य एयरलाइन्सले आग्रह गरेको छ ।

ranechhap