काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आनदोलनमा भएका घटनाबारे छानबिन गर्न बनेको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको बताएका छन् ।
सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथि कुन कानुनअनुसार कुन प्रयोजनका लागि र कति समय स्थानहद गरिएको हो भन्नेबारे अहिलेसम्म जानकारी नपाएको बताए ।
‘संविधान, कानुनबमोजिम के कारणले कुन प्रयोजनका लागि कति समय स्थानहद गरिएको हो,’ लेखकले भने, ‘त्यो मैले जानकारी पाउनु पर्ने हो । तर अहिलेसम्म जानकारी पाएको छैन ।’
आफू कानुन मान्ने नागरिक र आफूमाथि प्रश्न उठेपछि जवाफ दिने पार्टीको कार्यकर्ता भएको बताए । ‘मेरामाथि प्रश्न उठ्यो भने जवाफ दिनुपर्छ भन्ने पार्टीको कार्यकर्ता हो,’ लेखकले भने । लेखक सोमबार नै आयोगमा बयानका लागि उपस्थित भएका थिए ।









































