वि.सं.२०८३ वैशाख २७ आइतवार

लोक सेवा आयोगको अधिकृत भन्दै ठगी हिँड्ने युवक प्रहरीको फन्दामा

khanepani

काठमाडौं । आफूलाई शाखा अधिकृत बताउँदै ठगी गर्दै हिँड्ने नक्कली कर्मचारी प्रहरीको फन्दामा परेका छन् ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको थसिखेल घर भई हाल काठमाडौंको झोछे २३ वर्षीय समन श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले टेकुबाट आइतबार पक्राउ गरेको हो ।

श्रेष्ठले लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरि सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाउने गरेको खुलेको छ ।

साथै उनी हुँदै नभएको शाखा अधिकृतको परिचय देखाई फाइदा लिन खोज्ने लगायतका कार्यमा संलग्न थिए ।

श्रेष्ठले सिंहदरबार लगायत अन्य सरकारी निकायमा गई नभएको ओहदा तथा परिचय दिने गरेको अनुसन्धानको क्रममा खुलेको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।

उनी आफैँ उपस्थित भएर वा फोनबाट सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको र आर्थिक लाभ लिई विभिन्न व्यक्तिहरुलाई जागिर लगाईदिन्छु भनि झुक्यानमा पार्ने गरेको खुल्न आएको उनले बताए ।

प्रहरीले उनको साथबाट बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्ति गरेको नियुक्ति पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्ति पुष्टि सम्बन्धी पत्र,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको परिचय पत्र र अर्थ मन्त्रालयबाट तलब भुक्तानी सम्बन्धीको पत्र, लगायतकमा पत्रहरु बरामद गरेको छ ।

सरकारी छाप तथा लिखत सम्वन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि, जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाइएको कार्यालयका प्रवक्ता आचार्यले जानकारी दिए ।

ranechhap