काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक परिवर्तनसँगै प्रशासनिक सरुवा र जिम्मेवारी बाँडफाँटलाई लिएर विवाद सुरु भएको छ । सिनियर कर्मचारीलाई पन्छाउँदै जुनियर कर्मचारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको विषय प्राधिकरणभित्र असन्तुष्टि फैलिएको छ।
नव नियुक्त निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले गरेका निर्णयले प्राधिकरणभित्र सिनियरीटीको मर्ममाथि प्रहार भएको आरोप लागेको छ। अनुभवी उपमहानिर्देशकहरूलाई उपयुक्त भूमिका नदिई ११ औँ तहका कर्मचारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिनु, कर्मचारीहरूका अनुसार प्रशासनिक अव्यवस्था बढाउने काम भएको छ।
हालैका प्रमुख सरुवा निर्णयअनुसार, नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा कार्यरत टेकनाथ सिटौला लाई त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै, हवाई सुरक्षा महाशाखामा कार्यरत विक्रमराज गौतम लाई सिङ्गो निर्देशनालयको जिम्मेवारी दिइएको छ।
तर यी निर्णयले प्राधिकरणभित्र असन्तुष्टि उत्पन्न भएको छ। कर्मचारीहरूले बताए अनुसार, लामो अनुभव भएका उपमहानिर्देशक प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला लाई उपयुक्त भूमिका नदिई जुनियर तहका कर्मचारीलाई अगाडि सार्नुले संस्थागत अनुशासन र मनोबलमा नकारात्मक असर परेको छ।
कर्मचारी स्रोतका अनुसार निमित्त महानिर्देशक कर्णले ‘कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमै सरुवा’ गरेर सिनियरीटीको धज्जी उडाएका छन्। साथै हवाई सुरक्षामा दख्खल राख्ने गौतमलाई उडान सुरक्षाको जिम्मेवारी दिनु, कर्मचारीहरूका अनुसार ‘विज्ञताको खिल्ली उडाउनु’ सरह भएको छ।
विक्रमराज गौतम निलम्बित महानिर्देशक प्रदीप अधिकारीका विश्वासपात्र मानिन्छन्। उनी पहिले पोखरा र भैरहवा विमानस्थल उडानयोग्य बनाउने टोलीका प्रमुख थिए। पोखरा विमानस्थल उडानयोग्य बनाएको सिफारिसको आधारमा जहाज उडान सुरु भएको थियो। तर त्यसबेला महानिर्देशकको जबरजस्त प्रस्ताव स्वीकार गरी योग्यता भएको सिफारिस गरेको आरोप उनलाई लाग्दै आएको छ।
यी सबै निर्णयले प्राधिकरणभित्र कर्मचारीको मनोबल खस्किएको, अनुभव र योग्यता भन्दा निकटता हेरिएको, र संस्थागत सुशासन कमजोर बनेको भन्ने धारणा बलियो भएको छ। सिनियर कर्मचारीहरू असन्तुष्ट छन् भने, जुनियर कर्मचारीहरूलाई बढाइएको जिम्मेवारीले विवाद झन् बढाएको छ।
नागरिक उड्डयन प्राधिकरण जस्तो संवेदनशील र प्राविधिक संस्थामा अनुभव, योग्यता र सिनियरीटीलाई बेवास्ता गरेर गरिएका निर्णयले दीर्घकालीन असर पार्न सक्छ।
निमित्त महानिर्देशक कर्णको भूमिकालाई लिएर प्राधिकरणभित्र मात्र नभई बाहिर पनि आलोचना बढ्दै गएको छ। अब यी निर्णय पुनरावलोकन हुने कि हुँदैन भन्ने विषयले क्यानको आगामी प्रशासनिक दिशा निर्धारण गर्ने देखिन्छ।








































