रुपन्देही । सबैभन्दा कान्छो जिल्ला अध्यक्ष बनेर चर्चा कमाएका एमाले रुकुमपूर्व जिल्ला कमिटीका अध्यक्ष लीलामणि गौतमले एमालेको केन्द्रीय सदस्यमा समेत बाजी मारेका छन् ।
प्रदेश जिल्ला कमिटीमा जिम्मेवारीमा रहेकालाई केन्द्रमा उम्मेदवार नब्न पार्टी सर्कुलर भएपनि उनले लुम्बिनी युवा क्लस्टरबाट उम्मेदवारी हालेका थिए । जिल्ला कमिटीमा उनको कार्यकालको समय अझै साढे १ वर्ष बाँकी नै थियो तर केन्द्रतिर जाने योजना नेताहरूलाई सुनाएर आफ्नो तयारीमा लागेका थिए ।
संस्थापन लाइनमा रहेका उनले नेताहरूबाट आश्वासनसमेत पाएका थिए । केन्द्रीय सदस्य बन्ने निर्णयमा पुगिसकेकाले उम्मेदवारी दिएको उनी बताउँछन् ।
‘मैले नेताहरूलाई पहिले नै जानकारी गराएर तयारी गरेको थिएँ तर सूचीमा मेरो नाम देखिनँ, म फिर्ता हुने गरी लागेकै थिइनँ, त्यसमाथि जिल्लाको नेतृत्वमा रहेकालाई माथि नपठाउने नीति बनाइयो, त्यसले मलाई अर्को समस्या पर्ने देखियो । देशभरका जिल्ला अध्यक्ष कोही पनि उम्मेदारका लागि तयार नहुने अवस्था आयो तर मैले पूर्वतयारी गरेकाले कतैको लिस्टमा नपरेपनि उम्मेदारी दिएँ’, गौतम भन्छन् । आफू कुनै समूहमा नपरे पनि परीक्षणका लागि गएको उनको भनाइ छ ।
बाग्लुङ अध्यक्ष हीराबहादुर केसी र धादिङका भूमि त्रिपाठीले पनि उम्मेदवारी दिएका थिए ।
ओलीको प्यानलमा परेका प्रतिस्पर्धी धर्म गिरीको उम्मेदवारी खारेज भएसँगै गौतम निर्विरोध भएका हुन् । अनेरास्ववियुका पूर्वउपाध्यक्ष गिरी प्यूठान घर भएका भए पनि प्रतिनिधि बागमतीबाट भएकाले भूगोलको प्रतिनिधित्व नहुने भन्दै उजुरी परेको थियो ।
गौतमले २०५८ सालमा पार्टीको संगठित सदस्यता लिएर काम गर्न थालेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास र जन प्रशासनमा स्नाकोत्तर तथा कानुनमा स्नातक गरेका गौतम ०५६ सालबाट विद्यार्थी राजनीतिमा जोडिएका हुन् ।
रुकुमपूर्व नयाँ जिल्ला हो । तत्कालीन माओवादीको राजनीतिक प्रभावको क्षेत्र भएकाले एमाले संगठन निर्माण बलियो बनाउन धेरै चुतौती भए पनि आफ्नो सकृयतामा पार्टीलाई देखिने तहमा पुर्याएको उनको दाबी छ ।
उनले पार्टीलाई जिल्लामा संगठन, पूर्वाधारको हिसाबले समेत बलियो बनाउँदै लगेका छन् ।








































