काठमाडौँ । सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आयोगका पदाधिकारीसँगको भेटमा म्याद थप गर्ने आश्वासन दिएकी हुन्।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटी निर्धारित समयमा काम नसकिएको भन्दै म्याद थपका लागि आग्रह गरेको थियो। अध्यक्ष कार्कीका अनुसार प्रधानमन्त्रीले म्याद थपको प्रस्ताव पठाउन निर्देशन दिँदै समय थपिदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
आयोगको म्याद यही पुस ९ गते सकिँदैछ। कार्यादेशअनुसारका बाँकी काम पूरा गर्न थप समय आवश्यक परेको अध्यक्ष कार्कीले बताए। उनले काममा ढिलाइ हुनुको कारण खुलाउँदै भने, ‘दुई हप्ताभन्दा बढी त बिदा नै भयो, प्रहरीले पनि एक महिनासम्म सूची पठाएन। त्यसैले काम गर्न ढिलाइ भयो र एक महिना थप माग गरेका हौँ।’
प्रधानमन्त्रीसँगको छलफलपछि अब आयोगले औपचारिक प्रस्ताव पठाउने र सरकारले म्याद थपको निर्णय गर्ने तयारी गरेको छ।









































