काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले नेपालका पुराना राजनीतिक दलहरू व्यवस्था परिवर्तनमा सफल भए पनि नागरिकको जीवनस्तर उकास्न र देशलाई समृद्ध बनाउन पूर्णतः असफल भएको दाबी गरेका छन्।
मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष परियारले कांग्रेस, एमाले र माओवादीजस्ता दलहरू सत्ताको वरिपरि मात्र केन्द्रित हुँदा मुलुकमा निराशा छाएको बताए ।
अध्यक्ष परियारले विसं २०४६ सालपछि कांग्रेस र एमाले तथा २०६३ पछि माओवादी केन्द्रको उदय भए पनि यी दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको जिकिर गरे। उनले राजनीतिक व्यवस्था फेरिए पनि देशमा चरम भ्रष्टाचार, नातावाद र कुशासन मौलाएको भन्दै अबको निकास परम्परागत शक्तिबाट सम्भव नहुने ठोकुवा गरे। उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संरक्षक र नेता राम कार्कीलाई वैचारिक अभिभावक मान्दै अघि बढेको आफ्नो पार्टीले मात्र अबको पुस्ताको प्रतिनिधित्व गर्न सक्ने दाबी गरे।
सो क्रममा उनले विगतका राजनीतिक आन्दोलनहरूमा आफूहरूबाट भएका कमीकमजोरीप्रति आत्मालोचना गर्दै अब नयाँ शिराबाट अघि बढ्ने संकल्प गरे।








































