काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई साथ नदिएर आफ्ना सांसदले पार्टी नीति र निर्णय उल्लंघन गरेको बताएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर उक्त कामले पार्टीको प्रतिष्ठा र छविमा धक्का लागेको पनि उल्लेख गरेका छन् ।
सांसदको काम पार्टीको नीति, निर्णय र अनुशासनविरुद्ध भएकाले त्यसको छानविन र अनुसन्धान गरी आवश्यक कारवाही गर्ने केसीले बताएका छन् ।
गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले बुधबार आफूहरु कुनै गठबन्धनमा नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
जनमोर्चाका दुई सांसदले हस्ताक्षर गर्न नमान्दा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ् पक्षमा बहुमत दावी गर्न सकेका थिएनन् । नेपालीको बहुमत नपुगेको भन्दै प्रदेश प्रमुख सीता पौडेलले पृथ्वी सुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।