काठमाडौँ । मधेश प्रदेश सभाको बैठक बुधबार बिहान ८ः३० बजे आह्वान भएपछि प्रदेश सभा सदस्यहरु जनकपुर पुगेका छन् । प्रदेश सभा भवनमा बिहान डाकिएको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने तालिका छ । तर अहिलेसम्म मुख्यमन्त्री यादव प्रदेश सभामा पुगेका छैनन् ।
उनले मंगलबार प्रदेश सभामा दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाउन पत्र पठाएका थिए । सर्वदलीय बैठकले भने बुधबार बिहान ८ः३० बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय भएपछि आन्तरिक द्वन्द्व देखिएको हो ।
उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले मुख्यमन्त्रीले मागेको समय भन्दा अगावै बिहान बैठक आह्वान गरेकी थिइन् ।
सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिएका थिए ।
मुख्यमन्त्री यादव नआइपुगेपछि प्रदेश सभा बैठक शुरु हुन सकेको छैन । आइपुगेका प्रदेश सभा सदस्यहरु यतिकै बसिरहेका छन् ।






































