काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (मंगलबार) पनि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज करिब दुई घन्टा क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ।
एरो थाइले साढे २ बजेदेखि क्यालिब्रेसन उडान सुरू गरेको छ। विमानस्थल कार्यालयका प्रवक्ता रिन्जि शेर्पाका अनुसार यो उडान दुई घन्टाको हुनेछ। सोमबार पनि ४ घन्टा (दिउँसो १ बजेदेखि ४ बजेसम्म) क्यालिब्रेसन उडान भएको थियो।
क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको विषयमा परीक्षण गर्नेछ। क्यालिब्रेसन उडान हरेक वर्ष हुन्छ।
यसअवधिमा हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान प्रभावित हुने उनले बताए।
‘क्यालिब्रेसन उडान सुरू भएकाले टिआइएबाट यो अवधिमा हुने उडानमा केही ढिलाइ हुनेछु उनले भने, ‘यसका लागि विमानस्थलले सम्बन्धित वायुसेवाहरूलाई पहिले नै खबर गरिसकेका छौं।
एरो थाइले भैरहवाको गौतमबुद्ध र पोखरा विमानस्थलमा पनि क्यालिब्रेसन उडान गरेर काठमाडौंमा थालेको हो।









































