काठमाडौँ । अन्तर्राष्ट्रिय डेमोक्र्याट युनियन (आईडीयू) फोरममा भाग लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्की सोमबार अमेरिका प्रस्थान गरेका छन् ।
विश्वभरका कन्जर्भेटिभ (सम्वर्द्धनवादी) र डेमोक्र्याटिक पार्टीहरूको छाता संगठनको रूपमा रहेको आईडीयुको यो उच्चस्तरीय सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै कार्की त्यसतर्फ लागेका हुन्। आईडीयू फोरम वाशिङ्टन डी.सी. मा डिसेम्बर २ देखि ४ सम्म हुँदैछ ।
राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन नेतृत्वको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका कार्यकारी सदस्य समेत रहेका कार्कीले फोरममा नेपालको समसामयिक राजनीतिबारे विशेष प्रस्तुति दिनेछन्। कार्की अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका सह–अध्यक्ष समेत हुन्।
यस वर्षको आईडीयु फोरमको अध्यक्षता क्यानडाका पूर्व प्रधानमन्त्री स्टिफेन हार्परले गर्नेछन्। सम्मेलनमा अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टी, बेलायतको कन्जर्भेटिभ पार्टी लगायत विश्वका दर्जनौँ देशका प्रभावशाली नेताहरू, मन्त्री तथा प्रधानमन्त्रीस्तरका व्यक्तित्वहरूको सहभागिता रहने कार्कीले जानकारी दिए ।
सम्मेलनका क्रममा आयोजना हुने आईडीयुको कार्यकारी बोर्ड बैठकमा कार्कीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। उनले आफ्नो प्रस्तुतिमा नेपालको बदलिँदो राजनीतिक परिदृश्य, राप्रपाको वैचारिक दृष्टिकोण र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्धलाई समेट्ने छन्।
विशेषगरी कार्कीले नेपालमा पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनको सूक्ष्म विश्लेषण र त्यसले राजनीतिमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने छन्। साथै, राप्रपाले आगामी दिनमा लिने योजना र रणनीतिहरू पनि उनले बैठकमा प्रस्तुत गर्ने बताइएको छ।









































