कैलाली । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता तथा साबिक माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले जेन-जी आन्दोलनलाई माओवादीको समर्थन रहेको बताएका छन् ।
धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे उनले जेन-जी आन्दोलनको प्रशंसा गर्दै समर्थन रहेको बताएका थिए ।
‘जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलन जायज थियो । नेपाली युवाहरूले एउटा कीर्तिमानी कायम गरे । उनीहरूले देखेको सपना सार्थक बनाउनु पर्छ ’ उनले भने, ‘तपाइहरूको आन्दोलनलाई सबै भन्दा पहिले समर्थन गर्ने पार्टी हामी नै हौँ । ’
अहिले मुलुक सङ्कटमा रहेको भन्दै जोगाउनु पर्ने अवस्था रहेको उनले बताए । उनले समयमै निर्वाचनको आवश्यकता रहेको समेत बताएका थिए ।
‘देश पनि बचाउनु छ । प्रणाली, संविधान जोगाउनु पर्ने ,विकास निर्माणको गति अघि बढाउनु पर्ने छ ’ उनले भने, ‘समयमा चुनाव गराउनु पर्ने छ । मुलुकलाई अगाडि बढाउनु पर्ने छ । हामी अगाडी बढिरहेका छौँ । ’
एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण देशमा समस्या भएको भन्दै उनले अझै पनि ओलीमा पश्चात्ताप नभएको बताएका थिए । ‘केपी ओलीको भाषाले फेरि देश गृहयुद्धको खतरा बढेको बताए । ‘उनकै कारण समस्या भएको हो उनलाई अझै त्यो विषयको पश्चात्ताप छैन ’ उनले भने ।
विभिन्न पार्टीको एकतापछि बनेको नेकपालाई अझै बलियो बनाउन आवश्यक रहेको भन्दै उनले एकताले मात्रै नहुनेभन्दै देश विकास र संवृद्धिको लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।









































