वि.सं.२०८३ असार १२ शुक्रवार

ओली प्रधानमन्त्री हुँदा तीन पटक पक्राउ परेका थिए दुर्गा प्रसाईं, अहिले किन देखाए सहानुभूति ?

khanepani

काठमाडौं । सोमबार मध्यराति मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियान चलाउँदै आएका दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गर्‍यो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसाईंलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाए । अहिले सामाजिक सञ्जालमा ओलीले प्रसाईं पक्राउप्रति आपत्ति जनाएको विषयमा आलोचना भइरहेको छ ।

आलोचना यसकारण कि उनै ओली प्रधानमन्त्री भएका बेला प्रसाईं पटक-पटक पक्राउ परेका थिए । ओली प्रधानमन्त्री भएका बेला प्रसाईं २०८१ असोज, मंसिर र चैत महिनामा पक्राउ परेका थिए । उनलाई २०८१ सालको असोज ६, मंसिर ४ र चैत २९ गते प्रहरीले पक्राउ गरेको थियो । त्यो समयमा मुलुकको प्रधानमन्त्री ओली थिए ।

लरेन्स विश्नोई प्रकरण, ओलीको इन्डोनेसियामा अवैध लगानी रहेको भ्रम फैलाएको आरोपमा साइबर क्राइम मुद्दामा र तीनकुने घटनामा जोडिएको भन्दै ओली नेतृत्वको सरकारले प्रसाईंलाई पक्राउ गरेको थियो । तर पछि तीनैवटा मुद्दामा उनी धरौटीमा छुटेका थिए ।

कुनै समय माओवादी, एमाले लगायत पार्टीमा समेत जोडिएर राजनीति गरेका प्रसाईं पछिल्लो समय भने उनी आफैंले व्यवस्था र संविधान नै परिवर्तन गर्ने भन्दै अभियान चलाइरहेका छन् । प्रसाईंको समर्थनमा नागरिक बचाउ दल नामक राजनीतिक पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ । आयोगमा पुगेको निवेदनअनुसार सो पार्टीको नेतृत्व माधव खतिवडाले गरेका छन् ।

ओलीले आफ्नो कार्यकालमा प्रसाईंलाई पक्राउ गरेको घटना धेरैले सम्झिरहेका बेला उनैले बुधबार प्रसाईंलाई सरकारले आफ्ना कर्तुत लुकाउन पक्राउ गरेको आरोप समेत लगाए । ओलीले समग्र सरकारको आलोचना गर्दै मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको जिकिर समेत गरे ।

सोही प्रसंगमा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईंलाई समात्नु मानव अधिकारको उल्लङ्घन भनिसकेको अवस्थामा सरकारले उनलाई थुनिराख्न नमिल्ने भन्दै तत्काल छाड्नुपर्ने बताए ।

‘गिरफ्तार गरेर, मुख बन्द गरेर समस्या समाधान हुँदैन, म सरकारलाई भन्छु– दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ?’ ओलीको प्रश्न थियो ।

त्यति मात्रै होइन, ओलीले प्रसाईंले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन भन्दै प्रधानमन्त्री कार्की र सरकारलाई प्रश्न गरे ।

स्मरणरहोस्, प्रसाईंले जेनजी आन्दोलनका क्रममा के-के भएको थियो र त्यसमा क-कसको संलग्नता थियो भन्दै सुशीला कार्की नेतृत्वको सरकारमा रहेका पात्रहरुका बारेमा आक्रमक भिडियो र अभिव्यक्तिसहित चर्चा गरेका थिए । साथै, उनले सिंहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडीभित्र बसेर क–कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अप्रेसन गरिएको थियो ? भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत मुछेर भिडियो सार्वजनिक गरेका थिए ।

उक्त भिडियो सार्वजनिक गरेको दुई दिन नबित्दै प्रसाईंलाई मध्यराति प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले मंसिर ७ गतेबाट हिन्दु राष्ट्र स्थापनार्थ आन्दोलनको घोषणा समेत गरेका थिए । व्यवस्था परिवर्तन गर्ने भन्दै उनले आन्दोलन अवधिभरका लागि सर्वसाधारणलाई खानेकुरादेखि ग्यास मट्टितेल समेत जोहो गर्न, राजमार्गहरु बन्द गर्न आहन गरेका थिए । प्रसाईंका यस्तै गतिविधि र अभिव्यक्तिले मुलुकको शान्ति सुरक्षामाथि खतरा देखेर सरकारले उनीमाथि एक्सन लिएको सरकारी अधिकारीहरुको दाबी छ ।

पक्राउपछि प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्दको कसुरमा म्याद लिएर काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले म्याद लिएको बिहीबार तेस्रो दिन भएको छ ।

त्यसो त जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली पनि पछिल्लो परिवर्तनप्रति सहिष्णु छैनन् । ओली सरकारकै समयमा जेनजी आन्दोलनमा युवाहरु मारिएको भन्दै उनलाई समेत पक्राउ गर्नुपर्ने जेनजीहरुको माग भइरहेको छ । तर ओली जेनजी विद्रोहलाई कुनै पनि किसिमको आन्दोलन, विद्रोह वा क्रान्ति मान्न तयार छैनन् । बरु ओलीले जेनजीका नाममा विभिन्न स्वार्थ समूहहरुको घुसपैठ भएर भदौ २३ र २४ को ध्वंसात्मक घटना हुन पुगेको बताइरहेका छन् ।

यसरी गर्दा जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण र विश्लेषणमा ओली र प्रसाईंबिच समानताजस्तै देखिन्छ । जसकारण प्रसाईं पक्राउको विपक्षमा ओली उभिन पुगेको जानकारहरु बताउँछन् ।

ranechhap