काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीका महासचिव रोशन थापामगर सङ्गठनबाट अलग भएको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्गठनबाट अलग भएको घोषणा गर्दै उनले आगामी राजनैतिक यात्रा ‘प्रगतिशील राष्ट्रिय अभियान’ जोडिने जानकारी गराएका छन् ।
मगर गत वर्ष माघमा सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित भएका थिए । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दलले नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि जनार्दन शर्मा पार्टीबाट अलग भएका थिए । शर्मा निकटस्थहरूले पार्टी र सङ्गठन छोड्ने क्रम धमाधम बढ्दै गाएको छ ।
प्रिय साथीहरू,
पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै विगत १४ वर्षदेखि काम गर्दै आएको सङ्गठन र पार्टीबाट अलग भएको जानकारी यसै स्टेटमेन्टबाट गराउन चाहन्छु । भाद्र २३–२४ गते पछिको परिस्थितिमा, आम नेपाली जनताले मागेको रूपान्तरण, हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव छैन भन्ने निष्कर्षमा म पुगेको छु ।
आफ्नो जीवनको ऊर्जाशील समय १६–३० वर्ष उमेरको दौरान अङ्गालेको सङ्गठन छोड्नु पक्कै पनि सजिलो निर्णय त रहेन, यद्यपि राजनीतिमा होमिसकेपछि यस्ता निर्णयहरू सामान्य हुन् भन्ने नै बुझ्छु । हैन भने चे ग्वेभाराको जीवनीको किताब भेट्दा तर्सिने माहौल भएको घरबाट अखिल (क्रान्तिकारी) को महासचिव बन्नु सम्भव नै हुँदैनथ्यो होला ।
यसैबिच आजको दिन सम्म जे जति राजनैतिक चेतना छ, जे जति सामाजिक पुँजी निर्माण भएको छ, त्यसका लागि म अखिल (क्रान्तिकारी)का सम्पूर्ण अग्रज, मार्गदर्शक र सहकर्मीहरू प्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।
कक्षा समिति सदस्यदेखि इकाई उपाध्यक्ष, इकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै, गत माघमा केन्द्रीय महासचिव निर्वाचित हुँदा सम्मको यात्रामा साथ, सहयोग र समर्थन गरिदिनुहुने सम्पूर्णलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
सङ्गठनमा काम गर्दै गर्दा, २०७३ सालमा पुल्चोक क्याम्पसको स्ववियू सभापतिमा र हालै सङ्गठनको केन्द्रीय महासचिवमा निर्वाचित हुन पाउने अवसर मेरा लागि सबै भन्दा महत्त्वपूर्ण क्षणहरू मध्ये रह्यो ।
पछिल्लो समय हेडक्वार्टर भन्दै पार्टी अध्यक्षलाई भ्रममा पार्दै एउटा झुन्डले गरेको निच व्यवहारका बिच पनि पार्टीमा सदैव अभिभावकत्व गर्नुहुने आदरणीय दिदीहरू पम्फा भुसाल र जयपुरी घर्ती प्रति विशेष धन्यवाद प्रकट गर्दछु ।
साथै, मेरो कार्यसम्पादनका क्रममा कहीँ कतै त्रुटि वा कमी देखिन गएमा सहृदय क्षमा माग्दै, मैले आगामी राजनैतिक यात्रा ‘प्रगतिशील राष्ट्रिय अभियान’ मार्फत अघि बढाउनेछु भन्ने जानकारी गराउन चाहन्छु ।








































