काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेले मंगलबार स्पष्टीकरणको जवाफ दिने भएका छन् । रास्वपाका सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी छोडेप्रति आक्रामक अभिव्यक्ति दिएका कारण शनिबार पार्टीले लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । २४ घण्टे स्पष्टीकरणको जवाफ आज दिने लामिछानेले बताए ।
‘पार्टीहित विपरीत अभिव्यक्ति दिएको विषयमा मलाई स्पष्टीकरण सोधेको हो । जवाफ दिएको छैन, आज बुझाउने तयारी गरेको छु । पार्टी छाडेर हिँड्नेहरूको विषयमा मैले मात्र होइन, शीर्ष नेताहरूले पनि अभिव्यक्ति दिएका छन्’, उनले भने ।
लामिछानेले एउटा गए सयौँ व्यक्ति पार्टीमा जोडिने खालको अभिव्यक्ति दिएका थिए ।
रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठले लामिछानेलाई कारबाही गर्ने हिसाबले स्पष्टीकरण सोधिएको नभई पार्टीको अनुकूल विपरीत किन अभिव्यक्ति दिएको भन्ने विषयमा सोधिएको बताए । स्पष्टीकरणको जवाफ आए वा नआएको विषयमा जानकारी नभएको श्रेष्ठले बताए ।









































