काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ) र राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारहरूको नामावली एकैसाथ प्रकाशन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा अन्य कुनै पनि दलहरूसँग चुनावी गठबन्धन गर्नु नहुनेमा उनले जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुवै निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनुपर्ने उनले बताए ।
गुरुङले भनेका छन्– ‘नेपाली कांग्रेसको विधानको धारा २३ अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समिति र विधानको धारा ३१ को उपधारा १ (घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिलाई तत्काल पूर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरू (५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला)लाई मनोनीत गर्नु पर्छ । ‘









































