काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलसँगै शैक्षिक यात्रालाई पनि अघि बढाउने भएका छन् । उनी स्नातक तह अध्ययनका लागि फिनिक्स कलेजमा भर्ना भए ।
रोहित व्यवस्थापन संकायमा भर्ना भएको कलेजले जनाएको छ । पौडेललाई स्वागत गर्दै कलेजले सतप्रतिशत छात्रबृत्ति उपलब्ध गराएको छ । पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्ति कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप ऊर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त गरेको छ ।
कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने, ‘हामी देशका लागि योगदान पुर्याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।’
यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ ।
रोहितले यसै वर्ष १२ कक्षाको परीक्षा उत्तीर्ण गरेका थिए । उनी व्यवासयमा पनि संलग्न छन् ।









































