काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले जेनजीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढ्नका लागि आफूहरूले पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनको मुद्दालाई आत्मसात गरेर उनीहरूलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिस्ट पार्टीहरूबिच एकीकरणको काम गर्नुपरेको बताएका हुन्।
उनले नेकपा (एकीकृत समाजवादी) सहितका नौ वटा कम्युनिस्ट पार्टीहरू बिचको एकीकरण नेपालको कम्युनिस्ट पार्टीहरूको एकीकरणको कोसेढुङ्गा साबित हुने दाबी समेत गरे। नेता श्रेष्ठले राष्ट्रियता, सुशासन, समृद्धि र समाजवादको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिस्ट शक्तिहरूलाई आफूहरूले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर गरे।
एकताका तीन मुख्य उद्देश्य:
नेता श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र पुनर्गठनको यो नयाँ पहललाई अगाडि बढाउँदा तीन वटा कुरामा आफ्नो ध्यान रहेको स्पष्ट पारे ।
१. समग्र कम्युनिस्ट आन्दोलनको प्रस्थान विन्दु: यो एकीकरण समग्र नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक रूपान्तरण र पुनर्गठनको प्रक्रियाको कोसेढुङ्गाको रूपमा काम गर्नुपर्दछ। राष्ट्रिय स्वाधीनता, सुशासन, समृद्धि, सामाजिक न्यायसहितको समाजवादको पक्षमा आउने सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एउटै केन्द्रमा सामेल गर्ने उद्देश्य यो एकीकरणले लिएको छ।
२. रणनीतिक लक्ष्यमा आधारित रूपान्तरण: यो एकता केही मान्छे थुपार्नका लागि मात्र नभई रणनीतिक लक्ष्य, विचार, सिद्धान्त, राजनीति, विधि, पद्धति, सामूहिकता र जनमुखितालाई केन्द्रबिन्दुमा राखेर सिङ्गो पार्टी र कम्युनिस्ट आन्दोलनलाई रूपान्तरणसहित अघि बढाउनका लागि हो।
३. युवा पुस्तालाई सामेल गर्ने: जेनजी आन्दोलनको चेतना र मुद्दाहरूलाई आत्मसात गर्दै, जेनजीसहितका युवा पुस्ताहरूलाई पनि पार्टी पुनर्निर्माणको प्रक्रियामा सामेल गर्ने उद्देश्यसहित आफूहरू नयाँ एकीकृत पार्टी पुनर्निर्माणको काममा अघि बढिरहेको उनले बताए।
नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए।









































