काठमाडौ । काठमाडौ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए।
साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड नभएकोले कोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्यो भन्दा धेरै बेडमा कोभिडको उपचार गरिरहेको उनले बताए।
अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने जनाए।
उनले काठमाडौंमा भएको उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुने तर माग भने करिब १५ हजार सिलिन्डर रहेको बताए। त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको अर्यालले जनाए।
उनले केही समयभित्रै टिचिङ अस्पतालमा लिक्विड अक्सिजन हाल्ने काम सकिने पनि बताए। काठमाडौंमा अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेको उनले जनाए।









































