वि.सं.२०८३ वैशाख ११ शुक्रवार

नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

khanepani

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भौगोलिक रूपमा नेपाल सुन्दर भए पनि त्यत्तिकै जोखिमपूर्ण रहेको धारणा राखेका हुन्।

गृहमन्त्री अर्यालले नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरूको उच्च जोखिममा रहेको उल्लेख गरे। उनले २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको महत्त्वलाई गम्भीर रूपमा बोध गराएको बताए।

‘हामीले विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ,’ उनले भने।

गृहमन्त्रीका अनुसार संविधान, राष्ट्रिय नीति तथा कानुनहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको छ। केन्द्रदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विभिन्न संयन्त्रहरू क्रियाशील रहेको उनले जानकारी दिए।

उनले बाढी तथा डुबानजस्ता जोखिमहरूको पूर्व जानकारीका लागि ‘अर्ली वार्निङ सिस्टम’ को विस्तार गरिएको पनि बताए।

गृहमन्त्री अर्यालले विपद् न्यूनीकरणका लागि समुदायको अग्रसरताविना सम्भव नभएको भन्दै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए।

उनले विपद् जोखिम न्यूनीकरण सरकारको मात्र नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएकोमा जोड दिए। नीति निर्माणदेखि कार्यान्वयनसम्म, जनसाधारणदेखि प्राविधिक विज्ञसम्म सबैको समन्वय र सहकार्यविना दिगो समाधान सम्भव नभएको उनको भनाइ थियो।

ranechhap