वि.सं.२०८३ वैशाख ८ मंगलवार

सशस्त्रद्वारा दुई महिनामा पर्साबाट साढे ६ करोड भन्सार छलीका समान बरामद

khanepani

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका ६ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

जबकी सशस्त्र प्रहरीले आव २०८१/८२ को साउन र भदौ महिनामा भने भन्सार छली गरेका सात करोड १० लाख २१ हजार आठ सय ६१ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको थियो ।

त्यस्तै गत आवको दुई महिनामा एक करोड ९२ लाख ५३ हजार छ सय ८७ मूल्य पर्ने बिलविजक भन्दा बढी भएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली तथा बिलविजक भन्दा बढीका सामान बरामद हुने क्रममा केही कमी आएको बताए ।

‘‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेसँगै वीरगञ्ज भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ,’’ उनले भने ,‘‘भन्सार छलीका सामान धेरै भित्रिदा भने राजस्व सङ्कलनमा कमी हुने गर्दछ ।’’

गणपति भट्टले पर्साको सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध चोरी पैठारी र निकासी नियन्त्रणका लागि आवश्यक काम गर्दै आइरहेको बताए । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ ।

ranechhap