वि.सं.२०८३ वैशाख ३ बिहीवार

जेनजी आन्दोलन जाँचबुझ आयोगले प्रहरीलाई कसैको घरमा छापा र खानतलासी लिन नलगाएको दावी

२३–२४ को घटनासँग सम्बन्धित व्यक्तिमध्ये जाँचबुझका क्रममा आशंकित भए त्यस्ता व्यक्ति सम्भावित कारवाहीका क्रममा सहजै फेला परून् भन्नाका लागि थप केही व्यक्तिका राहदानी रोक्का वा स्थानहद जारी हुने सम्भावना रहेको उनको भनाइ छ ।

khanepani

काठमाडौं । सरकारद्वारा गठित भदौ २३–२४ को घटना सम्बन्धी जाँचबुझ आयोगले थप केही व्यक्तिको राहदानी रोक्का र स्थानहद जारी हुनसक्ने जनाएको छ । तर, अहिल्यै प्रहरीलाई कसैको घरमा छापा मार्न वा अनुसन्धान गर्न नभनेको जनाएको छ ।

आइतबार प्रहरीले कांग्रेस सभापति शेरबहादुर देउवाको सालो भूषण राणाको जावलाखेलस्थित घरसहित केही व्यक्तिका घरको खानतलासी लिएपछि जाँचबुझ आयोगको निर्देशन भनी चलेको हल्ला पूर्णतः निराधार भएको आयोगका सदस्य तथा नेपाल प्रहरीका भूपू एआईजी विज्ञानराज शर्माले बताए ।

‘प्रहरीले आफ्नो नियमित काम गर्नका लागि हाम्रो निर्देशन चाहिँदैन, त्यसमाथि भदौ २३–२४ को घटनासँग सम्बन्धित व्यक्ति र घटनाबाहेकका विषयमा हामीले केही भन्ने कुरा हुँदैन’, उनले भने ।

अहिलेसम्म जाँचबुझ आयोगले प्रहरीलाई यसो गर्नु वा नगर्नुजस्ता कुनै पनि निर्देशन नदिएको उनले बताए । ‘त्यसदिनको घटना जाँचबुझका क्रममा केही कुरा बुझ्नुपर्ने भयो भने आयोग आफैँले सोधपुछ, अनुसन्धान गर्ने अधिकार राख्छ, त्यस्तै परे प्रहरीको सहयोग पनि लिनुपर्ने हुनसक्छ, तर अहिलेसम्म त्यस्तो केही भनेको छैन’, शर्माले भने ।

यद्यपि, आइतबार राहदानी रोक्का गरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहितका व्यक्तिलाई झैँ अन्य व्यक्तिको राहदानी रोक्का हुनसक्ने उनले बताए ।

२३–२४ को घटनासँग सम्बन्धित व्यक्तिमध्ये जाँचबुझका क्रममा आशंकित भए त्यस्ता व्यक्ति सम्भावित कारवाहीका क्रममा सहजै फेला परून् भन्नाका लागि थप केही व्यक्तिका राहदानी रोक्का वा स्थानहद जारी हुने सम्भावना रहेको उनको भनाइ छ ।

‘जाँचबुझ गर्दै जाँदा थप मानिसमाथि पनि त्यस्तो गर्न सकिन्छ’, उनले भने ।

ranechhap