विराटनगर । जेन–जी आन्दोलनका क्रममा ठुलो क्षति व्योहोरेका कोशी प्रदेश प्रहरी चाडपर्व लक्षित सुरक्षामा केन्द्रित भएको छ । दसैँ सुरु भइसकेको र तिहार तथा छठ नजिकिँदै गर्दा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार भीडभाड हुने सार्वजनिक स्थल,मठमन्दिर, बैङ्क, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र शङ्कास्पद स्थानमा विशेष निगरानी बढाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । आन्दोलनपछि सडकमा आउन नसकेका जनपद प्रहरी र ट्राफिक प्रहरी नियमित काममा फर्किएका छन् ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोख्रेलले चाडबाडका बेला हुने अपराध नियन्त्रणका लागि पिकेट, पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, मोबाइल गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरिएको बताए ।
उनले भने,‘ प्रहरीले चोरी, झगडा, जुवा तास, मादक पदार्थ सेवन, आतसबाजी, पटका, सवारी दुर्घटना र महिला–बालबालिकामाथि हुने दुर्व्यवहारलाई मुख्य चुनौतीका रूपमा लिएको छ।’ उनले घर छाडेर जानुपर्दा प्रहरी वा छिमेकीलाई जानकारी गराउन, सिसी क्यामेरा जडान गर्न र सतर्कता अपनाउन आग्रह गरे ।
जेन–जी आन्दोलनले प्रहरी सङ्गठनलाई भौतिक मात्र नभएर मनोवैज्ञानिक रूपमा पनि कमजोर बनाएको छ । भदौको २३ र २४ गते भएको आन्दोलनका क्रममा कोशी प्रदेश प्रहरीलाई ठुलो क्षति पुर्याएको थियो ।
अराजक समूहले प्रहरी कार्यालयमा आक्रमण गर्दै आगजनी, तोडफोड र लुटपाट गरेका थिए । त्यस क्रममा ५६ वटा प्रहरी भवन ध्वस्त भए भएका छन् । ८४वटा सवारीसाधन जलेका थिए ।प्रहरीका हतियार समेत लुटिए । लुटिएका मध्ये केही हतियार फिर्ता भए पनि धेरैजसो अझै फेला परेका छैनन् । प्रहरीका दर्जनौँ युनिट विस्थापित हुँदा सुरक्षा सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले चाडपर्वमा अपराध नियन्त्रण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए । उनका अनुसार प्रदेशका १४ जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
भारतसँग सीमा जोडिएका नाकामा पनि प्रहरी र त्यहाँका काउन्टरपार्टबीच समन्वय गरेर यात्रुको सुरक्षामा ध्यान दिएको बताए । उनले भने, ‘चाडपर्व रमाइलोको समय हो । तर, संयमित र सुरक्षित हुनुपर्छ । शङ्कास्पद गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर गर्नुपर्छ । हामी शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन प्रतिबद्ध छौँ ।’






































