वि.सं.२०८३ वैशाख ८ मंगलवार

हामी एकताबद्ध हुनसकेनौँ भने माओवादी आन्दोलनको हालत अझ खराब हुन्छ : गंगानारायण श्रेष्ठ

khanepani

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव गंगानारायण श्रेष्ठले माओवादी आन्दोलनलाई अझ कमजोर हुन नदिन एकताको अपरिहार्यता औंल्याएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले भने, ‘हामी एकताबद्ध हुन सकेनौँ भने माओवादी आन्दोलनको हालत यो भन्दा अझ खराब हुन्छ, देशले थप दु:ख पाउनेछ ।’

श्रेष्ठले जेनजी विद्रोहलाई ऐतिहासिक भन्दै त्यसको आत्मा अनुसार रुपान्तरण हुनुपर्ने समेत बताए । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई समर्थन गर्दै उनले उक्त प्रस्ताव संक्षिप्त भए पनि आवश्यक पक्षहरू समेटिएको बताए । उनले भने, ‘अब एक्सन प्लान बनाएर तुरुन्तै इमानदारीपूर्वक कार्यान्वयनमा जानुपर्छ ।’

श्रेष्ठले ऐतिहासिक संघर्ष, युद्ध र क्रान्तिपछि अधिकांश नेतृत्व नवसभ्रान्त वर्गमा पतन हुनु र जनतालाई सीमान्तीकरण गर्नु नै नेपाली राजनीतिका प्रमुख समस्या भएको बताए । विचारलाई व्यवहारमा लागू नगरेसम्म जनताले विश्वास नगर्ने उनले प्रष्ट पारे ।

दश वर्ष अलग राजनीतिक यात्रापछि माओवादी केन्द्रमै फर्किएका श्रेष्ठले निर्णायक पहल गर्ने अध्यक्ष प्रचण्डप्रति आभार प्रकट गरे । ‘बाटो हरायो भने जहाँबाट हराएको हो, त्यहीँ फर्कनुपर्छ भन्ने भनाइ छ । त्यही आधारमा फर्किएको हुँ’, उनले भने ।

संविधानसभाबाट संविधान घोषणा भएपछि लोकतान्त्रिक लडाइँको आधारभूत कोर्स पूरा भए पनि त्यसपछि भएका प्रयोगहरू सफल नभएको स्मरण गर्दै उनले नयाँ आधारमा आत्मसमीक्षासहित एकता गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

ranechhap