वि.सं.२०८३ असार १४ आइतवार

कांग्रेस उपसभापति खड्का भन्छन्, ‘जेनजी आन्दोलनमा ठुलो घुसपैठ भयो’

khanepani

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनमा षड्यन्त्रकारीहरू र विध्वंसकारीहरूको ठुलो घुसपैठ भएको आरोप लगाएका छन् ।

सोही कारण हिंसा भड्किएको र ठुलो भौतिक क्षति भएको उनको भनाइ छ । बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले भने, ‘भदौ २४ गते चार घण्टाको अवधिमा सिङ्गो देश जलाइएको छ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत सबै संरचना ध्वस्त पारिएको छ ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु देउवामाथि आक्रमण भएको तथा नेपाली कांग्रेसका ५० भन्दा बढी जिल्ला कार्यालयहरू र नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको जानकारी गराए ।

विशेष गरी कोइराला निवास र गणेशमान सिंहको ऐतिहासिक चाक्सीबारी निवास खरानी भएको घटनालाई नेपाली राजनीतिको विरासतमाथि भएको प्रहारका रूपमा लिएको पनि खड्काले बताए ।

खड्काले मुलुकको अर्थतन्त्रमा समेत ठुलो क्षति पुगेको बताए । उनले औद्योगिक क्षेत्रका ठुला उद्यमीहरूलाई अर्बौँको नोक्सानी भएको बताए । थप भने, ‘हजारौँ मानिसलाई हायर गरेर ठुलो तयारीसहित नेपाल राज्यमाथि नै ठुलो विध्वंस गर्ने नियतसहित सबै कुरा भएको देखिन्छ ।’

उपसभापति खड्काले यो घटनामा संलग्न दोषीहरूलाई छानबिन आयोग गठन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले नेपाली कांग्रेसले दसैँलगत्तै केन्द्रीय कार्यसमितिको बैठक आयोजना गर्ने र पार्टीभित्र तथा अन्य राजनीतिक दलहरूसँग संयमता, धैर्यता र एकता कायम गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले सबै दलका नेता कार्यकर्तालाई भड्काऊपूर्ण अभिव्यक्ति नदिन र समाजमा थप त्रास फैलाउने काम नगर्न आग्रह गरे ।

ranechhap