काठमाडौँ । बिहीबारको सेयर बजारमा नकारात्मक सर्किट ब्रेकर लागेपछि अर्थमन्त्री रामेश्वर खनालले चासो देखाएका छन् । एकैदिन २६८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति घट्ने गरी १६०.३३ अंकले बजार घटेपछि खनालले यसबारे अध्ययन गर्न कार्यदल बनाएका हुन् ।
नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।
उक्त कार्यदललाई पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गरी समाधानका लागि गठन गरिएको कार्यदललाई ५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका उपाय र दीर्घकालीन रूपमा बजार सुदृढ बनाउनुपर्ने कदमबारे सुझाव दिनेछ मन्त्रालयका प्रवक्ता टंक पाण्डेयले जानकारी दिए । कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनमार्फत तत्कालै लागू गर्न सकिने सुधारका कदमहरू पहिचान गर्नेछ ।







































