वि.सं.२०८३ वैशाख १७ बिहीवार

च्यासल पुगेर शंकर पोखरेलले भने, ‘हाम्रा कमजोरी होलान् तर सच्याउँदै अघि बढ्छौँ’

khanepani

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ गते भएको आन्दोलनका क्रममा ध्वस्त पार्टी कार्यालयको अनुगमन गरेका छन् । सोमबार ललितपुरस्थित च्यासल पुगेर पोखरेलले पार्टी कार्यालयको अनुगमन गरेका हुन् । त्यसक्रममा उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरू पनि च्यासल पुगेका थिए ।

कार्यालय अनुगमनपछि महासचिव पोखरेलले भदौ २४ मा पार्टी नेता कार्यकर्ताका निजी भवनसहित शताब्दी पुराना सम्पदाहरू समेत जलेर नष्ट भएकाले मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताए । ‘सिंहदरबार, शीतलनिवास लगायतका संरचना पनि जलाउने काम भयो’, उनले भने । उनले सुरक्षामा खटिने नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाहेक सबै संरचनाहरु जलाइएको बताए ।

महासचिव पोखरेलले युवाको आन्दोलनलाई लुटपाटको योजनामा बदल्ने र राष्ट्रलाई कमजोर बनाउने जस्ता काममा केही मानिसहरू लागेकाले युवाहरूले ती तत्त्वहरू चिन्नुपर्ने बताए ।‘त्यस्ता मानिसहरूलाई सरकारले पनि दण्डित गर्नुपर्छ । पुनर्निर्माणको काम अघि बढाउनुपर्छ’, पोखरेलले भने, ‘एमाले सुशासन कायम गर्ने,भ्रष्टचार अन्त्य र विकास तथा सम्मृद्धिलाई तीव्रता दिने कुरामा वर्तमान सरकारलाई सहयोग गर्न तयार छ ।’ यद्यपि उनले अहिलेको अन्तरिम सरकार भएकाले यसले समयमै निर्वाचन गराउने कुरामा ध्यान दिनुपर्ने बताए ।

‘सधैँभरी सडकबाट जनमत प्राप्त गर्ने कुरा हुँदैन । युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिल्यै पनि विकास र सम्मृद्धिको यात्रामा जान सक्दैन’, पोखरेलले भने, ‘त्यसअर्थमा हामी संविधानतिर फर्कनै पर्दछ । त्यसका लागि तोकिएकै समयमा निर्वाचन गर्नुपर्छ ।’

उनले नेकपा एमाले अहिले उठेका प्रश्नको उत्तर दिन सक्षम भएको दाबी गर्दै युवाहरूको भावनालाई सम्बोधन गर्न, परिवर्तनको आकाङ्क्षालाई बोक्न र मुलुकको नेतृत्व गर्न सक्षम भएको बताए । ‘देशभक्तहरूको पार्टी कहिल्यै कमजोर हुँदैन’, उनले भने, ‘युवाहरूका आकाङ्क्षालाई समयमै सम्बोधन गर्न सकेनौं होला । परिस्थिति समयमै आङ्कलन गर्न सकेनौँ होला त्यसमा हाम्रा पनि केही कमजोरी होलान् तर त्यसका नाममा देशभक्तिमाथि प्रश्न गर्ने कुरा उचित होइन ।’

महासचिव पोखरेलले एमाले फेरि उठ्ने भन्दै अझ एकताबद्ध र सशक्त हुँदै क्षतिग्रस्त पार्टीका संरचना सफाइ र पुननिर्माणका काममा लाग्न निर्देशन दिए ।

ranechhap