वि.सं.२०८३ असार १६ मंगलवार

निजामती सेवा दिवसको अवसरमा लुम्बिनी प्रदेशबाट ९ उत्कृष्ट कर्मचारी घोषित

khanepani

रुपन्देही । निजामती सेवा दिवसको अवसरमा लुम्बिनी प्रदेशबाट उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार, प्रदेश निजामती सेवा पुरस्कार र कार्यसम्पादनमा उत्कृष्ट ९ जनालाई सम्मान गर्नेगरी नामावली सार्वजनिक गरिएको छ । प्रमुख सचिव तथा पुरस्कार सिफारिस समितिका अध्यक्ष बाबुराम अधिकारीले आइतबार नामावली सार्वजनिक गरेका हुन् ।

उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याललाई प्रदान गरिनेछ ।

त्यसैगरी, उत्कृष्ट निजामती सेवा पुरस्कार वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इञ्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन निरीक्षक मनोजकुमार श्रेष्ठ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत शिवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।

यस्तै, मन्त्रालयबाट सिफारिस भई कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी र स्वास्थ्य मन्त्रालयकी वरिष्ठ पब्लिक हेल्थ नर्स सीता कुवरलाई सम्मान गरिने भएको हो । संविधान दिवसको दिन उक्त सम्मान प्रदान गरिने जनाएको छ ।

मूल समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो भने कर्मचारीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ। भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार साँझी, प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो।

सभामुख तुलाराम घर्तिले सरकारको मेरुदण्ड निजामती सेवा भएको बताए । उनले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यले नै विकास र समृद्धिको चाहना पूरा गर्न सकिने उल्लेख गरे । ‘सरकारको मेरुदण्ड निजामती सेवा हो । हामी सबैको सपना विकसित र समृद्ध देश हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय आवश्यक छ,उनले भने ‘राजनीतिक नेतृत्वले देखेको सपना र नीति पूरा गर्ने दृढता निजामती सेवाले लिन सक्नुपर्छ ।’

वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी र युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको र सहमति र सहकार्यबाट मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिए। प्रमुख सचिव बाबुराम अधिकारीले निजामती सेवालाई प्रभावकारी, सिर्जनशील र व्यवसायिक बनाउन सके सबैको जीत हुने बताए ।

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले सार्वजनिक प्रशासनलाई अझै सुधार गर्न आवश्यक रहेको बताउँदै विकास, समृद्धि र सुशासनका लागि यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले कानुनमा एकरूपता र व्यवस्थितता आवश्यक रहेको र तीन तहमा कार्यरत कर्मचारीबीच भावनात्मक एकता हुनुपर्ने बताए।

नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीका अध्यक्ष बामदेव शर्माले संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारीको वृत्ति विकासमा अनिश्चितता देखिएको उल्लेख गर्दै तत्काल संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गरे ।

ranechhap