काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद्, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबिचको व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबिच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गरे ।
उनले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरूसँगको कुटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिए । उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको स्पष्ट समेत पारे ।
उनले भने,‘प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र सचिवद्वारा जारी प्रेस नोटअनुसार चीनमा हाम्रा प्रधानमन्त्रीजीले चिनियाँ राष्ट्रपतिसँग नेपालको कुनै, संलग्नता, जानकारी र सहमतिबिना नेपालको भूमि लिपुलेकलाई दुई देशबिचको व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबिच ३ भद्र २०८२ मा भएको सहमतिप्रति स्पष्ट नेपालको आपत्ति रहेको जनाउनु भएको छ । साथै महाकाली नदीको मुहान लिम्पियाधुरामा रहेको र सुगौली सन्धिका अनुसार महाकालीमाथिका सबै भूभाग सार्वभौम मुलुक नेपालको नै रहेको स्पष्ट छ भन्दै आफ्नो अडान समेत राख्नुभएको छ । यस प्रशंसनीय कार्यका लागि म सबैलाई हार्दिक धन्यावाद पनि दिन चाहन्छु । आफ्नो देशको सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा सिङ्गो संसद् सम्पूर्ण राजनीतिक दलहरू, सिङ्गो नागरिक समाज, नेपाली प्रेस जगत र नेपाली जनता विगतमाझैँ एक ढिक्का छन् र एकसाथ उभिएका छौँ हामी भन्नेमा पनि म विश्वस्त छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी जीनपिङसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा स्पष्ट रुपमा आपत्ति रहेको विषय उठाएका थिए ।









































